कैलालीका वनहरूमा डमरुसहित घुम्दैछिन् बघिनी

  शनिबार ११, कार्तिक २०८० ०९:३१
फाइल फोटो

धनगढी । कैलालीको जैविक मार्ग र संरक्षित तथा सामुदायिक वनहरूमा बघिनी डमरु खेलाउँदै हिँडिरहेको देखिएको छ । मोहना लालझाडी जैविक मार्ग र वसन्ता संरक्षित तथा आसपासका सामुदायिक वनमा डमरुसहित बघिनी देखिएको स्थानीयले बताएका छन् ।

भाले बाघबाट बच्चा (डमरु) जोगाउन पोथी बाघ उक्त क्षेत्रमा आएको बताइएको छ। भरखरै सुत्केरी भएकी उक्त बघिनी एक हप्ताअघि उक्त क्षेत्रमा प्रवेश गरेको स्थानीय संरक्षणकर्मी घनश्याम पौडेलले बताए।

पछिल्लोपटक सुर्खेतबाट आएका सिकारीले सोही क्षेत्रमा रहेको एक पाटे बाघलाई मारेको हुँदा यसपटक आएकी बघिनीको लोकेसन बताइएको छैन। साथै उनीसँग भएका डमरुको संख्या समेत खुलाइएको छैन।

बघिनीले भारतको जंगलमा डमरु जन्माएर हुर्काउन त्यहाँ आइपुगेको हुनसक्ने डभिजन वन कार्यालय कैलालीले जनाएको छ। बघिनी पहिलोपटक सुत्केरी भएकाले उसले बच्चा स्याहार्ने तरिका सिकेको छैन। 

त्यस्तै उसले सुरक्षित बाटोका बारेमा समेत जानकारी नपाएकाले स्थानीयलाई सर्तकता अपनाउन वन कार्यालय कैलालीले आग्रह गरेको छ।

डमरुसहित बघिनी बस्ती नजिक आएको हुँदा यस्तो बेला जंगल नजाने तथा जानै परे चनाखो हुनुपर्ने भन्दै सामुदायिक वनका चोरी सिकारी कार्यदलहरुले सर्तकता सन्देश प्रवाह गरिरहेका छन्।

पछिल्लोपटक कैलालीको वसन्ता वन क्षेत्रलाई बघिनीले डमरु हुर्काउन सुरक्षित क्षेत्र ठानेर त्यहाँ जाने गरेको छ।

 

clock शनिबार ११, कार्तिक २०८० ०९:३१

प्रतिक्रिया