दार्चुलामा तुइनको जोखिमपूर्ण यात्रा हटेन

  शुक्रबार १०, कार्तिक २०८० ११:४३

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाका स्थानीयका लागि तुइनको प्रयोग अझै टुंगिएको छैन । व्याँस गाउँपालिका २ र ५ का स्थानीयहरु अझै तुइनमार्फत ओहोरदोहोर गर्छन् । 

भौगोलिक रुपमा विकट र झुलुङ्गे पुल नहुँदा उनीहरुले महाकाली वारपार गर्न तुइनको प्रयोग गर्दै आइरहेका हुन् । व्याँस गाउँपालिकास्थित महाकाली नदीमा ५ झोलुंगे पुल निर्माण भए पनि तुइनको जोखिमपूर्ण आवतजावत हटेको छैन । 

अहिले व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङ र बुदी क्षेत्रका स्थानीयले तुइनको प्रयोग गर्छन् । यस्तै वडा नम्बर ५ को स्याँकु र धौलाकोटका स्थानीय पनि तुइनमार्फत नै वारपार गर्छन् ।

दैनिक उपभोग्य वस्तुका लागि तुइनमार्फत नै भारतीय बजार धाउनुपर्छ । ‘हाम्रो बस्तीबाट झोलुङ्गे पुल निकै टाढा छ, पुल प्रयोग गर्न घण्टौँ हिड्नुपर्छ’, व्याँस गाउँपालिका–२ दुम्लिङका विरेन्द्र थियालले भने । 

यस क्षेत्रमा झोलुङ्गे पुलका लागि सरकारसँग माग गरे पनि कुनै सुनुवाइ नभएको उनको दुःखेसो छ । 

यस्तै दशैँ तथा तिहारका लागि तुइनमार्फत नै दैनिक उपभोग्य समानको जोहो गरेको व्याँस गाउँपालिका–५ स्याकुका केशर सिंह धामीले बताए । ‘ज्यानको बाजी थापेर महाकाली माथिको तुइनमा झुन्डिनुपर्छ, दशैँ होस् कि तिहार । बजारसम्म पुग्न नेपालतर्फ सडक घाटो छैन, तुइन चढेर भारतीय बजार पुग्नुपर्छ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ मै तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । तर दार्चुलामा अझै तुइन विस्थापन हुन सकेको छैन ।

जोखिमपूर्ण तुइनबाट आवातजावत गर्दा कयौँ मानिसले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय र व्याँस गाउँपालिका वडा नम्बर २ को कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो ६४ वर्षमा ६४ जनाले तुइनबाट खसेर ज्यान गुमाएका छन् ।

यिनीहरुमध्ये तीन जनाको मात्रै शव भेटिएको छ । अन्य ६१ जना बेपत्ताको सूचिमा छन् ।

clock शुक्रबार १०, कार्तिक २०८० ११:४३

प्रतिक्रिया