दसैँ टीकाको आज चौथो दिन, मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

  शुक्रबार १०, कार्तिक २०८० ०८:१५

धनगढी । बडादसैँ अन्तर्गत टीकाको आज चौथो दिन । नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने  क्रम आज पनि  जारी छ  ।

घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमा सम्म जारी रहन्छ । पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन छ ।

ठूलाले सानालाई टीका लगाइदिएर आशीर्वाद दिने दसैँमा आफ्ना घरमा पहिला टीका लगाएर आफन्तकहाँ जाने चलन रहेको छ। दसैँले आपसी सद्भाव, सुख तथा शान्ति हुने धार्मिक विश्वास रहेको छ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मान्यजनबाट टीका र जमरा लगाइन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।

कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज अलिख बलिपूर्ति गर्नुपर्ने समितिले जनाएको छ ।

clock शुक्रबार १०, कार्तिक २०८० ०८:१५

प्रतिक्रिया