बैतडीको डिलाशैनी गाउँपालिकाका पूर्व अध्यक्ष उकेन्द्रको निधन

  बिहिबार ०९, कार्तिक २०८० १८:२७

बैतडी । बैतडीका एक पूर्व अध्यक्षको निधन भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिकाका पूर्व अध्यक्ष उकेन्द्रबहादुर बोहराको निधन भएको हो।

सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान निधन भएको उनका भाइ भोजबहादुर बोहराले बताए।

डिलाशैनी गाउँपालिका वडा नम्बर-३ घर भएका ४५ वर्षीय बोहराको असोज २९ गते स्वास्थ्यमा समस्या आएपछि डडेल्धुरा हुँदै सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। उनी गएको ३ वर्ष यता क्षयरोगबाट पीडित रहेका थिए।

नेकपा एमाले बैतडीको सचिवालय सदस्य समेत रहेका बोहराको दुई छोरा र दुई छोरी रहेका छन्। बोहराको शुक्रवार गृह जिल्ला बैतडीमै दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट डिलाशैनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

clock बिहिबार ०९, कार्तिक २०८० १८:२७

प्रतिक्रिया