धनगढीमा यात्रु ठगी गर्ने पाँचवटा बस प्रहरी नियन्त्रणमा

  सोमबार ०६, कार्तिक २०८० १४:४९

धनगढी । कैलालीमा यात्रुहरुलाई ठगी गरेर मनलाग्दी भाडा असुल गर्ने बस धनीलाई ट्राफिक प्रहरीले धमाधम कारबाही गर्न थालेको छ। चाडपर्वको समयमा बढी भाडा असुल गर्ने यात्रुवाहक सवारी साधनलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले सवारी धनीलाई कारबाही गर्न थालेको हो। 

धनगढीबाट पहाडी जिल्लाका लागि छुटेका पाँचवटा यात्रुवाहक बसले बढी भाडा लिएको पाइएपछि कारबाही गरेर यात्रुको भाडा फिर्ता गर्न लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले बताएको छ। चाडबाडको समयमा यात्रुबाट बढी भाडा असुल गर्ने सवारीसाधनलाई कारवाही गरिएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख दीपक मल्लका अनुसार चाडपर्वको यो बिचमा धनगढीबाट बझाङका लागि छुट्ने ३०३१ नम्बरको बसले एक हजार एक सय ३९ भाडा लिनुपर्नेमा ३६ यात्रुबाट एक हजार पाँच सय लिएको पाइएपछि बढी असुल भएको रकम यात्रुलाई नै फिर्ता गरिएको छ।

३४०७ नम्बरको यात्रुबाहक बसले एक हजार भाडा लिनुपर्ने ठाउँमा एक हजार चार सय असुल गरेपछि बढी भाडा असुल गरिएको रकम ३६ यात्रुलाई नै फिर्ता गरिएको छ। त्यस्तै धनगढीबाट अछामका लागि छुट्ने १९८० नम्बरको बसले प्रति यात्रुबाट एक हजार ६ सय ५० रुपैयाँ भाडा लिनुपर्नेमा दुई हजार असुल गरेपछि बाँकी पैसा १६ यात्रुलाई नै फिर्ता गरिएको ट्राफिक प्रहरी प्रमुख मल्ले बताए।

त्यस्तै २६५३ नम्बरको बसले एक हजार एक सय ५० भाडावाफत लिनुपर्नेमा एक हजार पाँच सय भाडा असुल गरेको पाइएपछि बढी भाडा लिएको रकम ११ यात्रुलाई फिर्ता गरेको उनले बताए। साथै २२३९ नम्बरको बझाङ जाने बसलेसमेत कालोबजारीमा टिकट बिक्री गरेको सूचना आएपछि उक्त बसलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख मल्लले बताए।

clock सोमबार ०६, कार्तिक २०८० १४:४९

प्रतिक्रिया