भारतीय सीमा बजारमा नेपाली उपभोक्ताको घुइँचो, नेपाली बजार सुनसान

  शनिबार ०४, कार्तिक २०८० १४:२९

धनगढी । दशैं तिहारमा निकै चहल–पहल हुने धनगढी बजारमा यस पटक भने खासै चहल–पहल देखिएन् । दशैंको सिजनमा राम्रो व्यापार गरौंला भनेर पसलमा लगानी बढाएका व्यापारीहरू यतिवेला निराश भएका छन् ।

उपभोक्ताको रोजाइमा सिमावर्ती भारतीय बजारहरू पर्न थालेपछि यहाँका व्यापारीहरू चिन्तित भएका छन् ।कैलालीको त्रिनगर भन्सारसँगै जोडिएको सिमावर्ती बजार बनगाँउमा भने नेपाली उपभोक्ताहरूको घुइँचो नै लाग्ने गरेको छ ।

भारतीय व्यापारीको उपभोक्तालाई सामान बिक्री गर्न भ्याई–नभ्याई छ । खुल्ला सिमानाका कारण र सस्तो पाईने भ्रममा परेर सिमावर्ती क्षेत्रका नेपाली उपभोक्ताहरू भारतीय बजारमा पुगेर दैनिक उपभोग्य सामानदेखि आवश्यक सरसामान किन्ने गरेका छन् ।

विना कुनै रोकतोक सिमानाकाबाट नेपालमा सामान ल्याउन पाइने भएकाले पनि उपभोक्ताहरू भारतीय बजारतर्फ आकर्षित भएका हुन् । घरायसी प्रयोजनका लागि भनेपछि प्रहरी प्रशासनले पनि सहज रुपमा छोडिदिने गरेका छन् भने भन्सार नगरी सहजै सामानहरू नेपाल भित्रिँदा राजश्वमा समेत घाटा लागिरहेको छ ।

नेपाली उपभोक्ताहरू सस्तो पाइने आसमा भारतीय बजार पुगेर गुणस्तर, तौल र मूल्यमा समेत ठगिने गरेको कैलाली उद्योग बाणिज्य संघका बरीष्ठ उपाध्यक्ष पुस्कर ओझाले बताउनु भयो । धनगढी बजारमा कपडा पसल गर्दै आइरहेका शिवराज जोशी दशैंको समयमा पनि अन्य समयमा भन्दा कम व्यापार भएपछि चिन्तित देखिनुहुन्छ ।

जोशीले दशैंलाई लक्षित गरी नियमित भन्दा तीनदेखि ५ लाखको सामान पसलमा थप गरेपनी व्यापार प्राय शून्य भएपछि साहूलाई कसरी तिर्ने भन्ने चिन्तामा पिरोलिएको बताउनु भयो । अहिले उपभोक्ताहरू चिनी, चियापत्ति, मरमसला खरिद गर्न पनि भारतीय बजारमा जान थालेपछि आफूहरूको व्यापारमा कमी आएको बताउछन् ।

उपभोक्ता भने आफूहरूलाई राम्रो नराम्रो थाहा नभएको तर भारतीय बजारमा सामान सस्तो पाइने विना रोकतोक ल्याउन पाइने भएकोले पनि आफूहरू भारतीय बजारमा जाने गरेको बताउने गर्दछन् । सामान किन्नका लागि भारतीय बजार पुगेका धनगढीका रघु अबस्थिले चाडबाडको समयमा घरमा धेरै सामानहरू चाहिने भएको र बनगाँउ बजारमा नेपाली बजारमा भन्दा सस्तो पाइने भएकोले आफु बनगाँउ आएको बताउनु भयो ।

सीमाबर्ती बजारमा सामान कीन्नेहरुलाइ गुणस्तरको बारेमा थाहा नहुने तर सस्तो र लैजान कुनै रोकतोक नहुँदा सधै भारतीय बजार धाउने गरेका छन् ।

clock शनिबार ०४, कार्तिक २०८० १४:२९

प्रतिक्रिया