खसीबोका बिक्री भएनन्, कसरी चाँडपर्ब मनाउने ?

  शनिबार ०४, कार्तिक २०८० १४:०६     रासस

कञ्चनपुर । चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन् । डडेल्धुराको भित्री मधेस क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालेका खसीबोका बिक्री नहुँदा चिन्तित बनेका हुन् ।

परशुराम नगरपालिका–८ जोगबुढाका किसान खसीबोका बिक्री गर्न दुई दिन पैदल हिँडेर महेन्द्रनगर झरेका छन् । बाख्रापालन गरेर जीविकोर्पाजन गर्दै आएका उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च जोहो गर्न सकस परेको छ । “केही वर्षयता खसीबोकाको व्यापार हुनसकेको छैन, विगतका दसैँमा सजिलै घरखर्च चलाउथ्यौँ”, जोगबुढाका किसान जिते धामीले भने, “आम्दानीको स्रोत बाख्रापालन हो, बिक्री नहुँदा अब घरखर्च चलाउनै मुस्किल होलाजस्तो छ ।”

चाडबाडमा खसीबोका बिक्री नहुनुका साथै बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । भारतबाट आयात हुने खसीबोकाका कारण नेपाली उत्पादन बिक्री हुन नसकेको धामीको भनाइ छ । 

गत असोज ३० गते उहाँले १३ खसीबोका बिक्रीका लागि महेन्द्रनगर ल्याएका थिए। तीमध्ये तीन दिनसम्म दुईवटा खसीमात्रै बिक्री भएको धामीको भनाइ छ । बाख्रापालन गरेर जीवन धानेका डडेल्धुराको भित्री मधेसका किसान प्रत्येक वर्ष खसीबोका बेच्न तराई झर्ने गर्दछन् । गाउँबाट उधारोमा सङ्कलन गरेर ल्याएका खसीबोका बिक्री नहुँदा ऋण काढेर पैसा तिर्नुपर्ने अवस्था आएको देव धामीले बताए । 

“खसीबोका केही हामीले पालेका छन्, केही गाउँलेबाट बिक्री गरेपछि पैसा दिनेगरी उधारोमा ल्याएका छन्”, उनले भने, “केही पैसा आउँला भनेर गरियो, ऋण लाग्ने अवस्था छ ।” परशुरामबाट नौजना किसानले एक सय ५० खसीबोका बिक्रीका लागि महेन्द्रनगगर पुर्याएका छन् । तीमध्ये अहिलेसम्म ५० मात्रै बिक्री भएको उनको भनाइ छ । 

महेन्द्रनगरमा बस्ने व्यवस्था नहुँदा आफूहरूलाई समस्या भएको गोरे धामीले गुनासो गरे । रासस

clock शनिबार ०४, कार्तिक २०८० १४:०६     रासस

प्रतिक्रिया