बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु

  शनिबार ०४, कार्तिक २०८० १०:०९

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएको छ । शरदीय नवरात्र अन्तर्गत घटस्थापनादेखि पूजा आरम्भ भएको निङ्गलाशैनी भगवती मन्दिरमा आज महासप्तमीका दिनदेखि जात्रा शुरु भएको मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए।

महासप्तमीका दिन शुरु भएको जात्रा भोलि महाष्टमीका दिन राँगाको बलिसहित समापन हुने गर्दछ । आज श्रद्धालुहरुले भाकल गरे अनुसार मन्दिर राँगा लैजाने र भोलि बलिदिने चलन रही आएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष महाष्टमीका दिन सैयौं राँगाको बलि दिँइदै आएको छ । महासप्तमीका अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा बिशेष पूजाआजा गरेर फूलपाती भित्र्याउने चलन रही आएको पूजारी भट्टले बताउनुभयो ।

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालय देहीमाण्डौंले जात्रास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।

जात्रालाई मार्यादित र व्यवस्थित बनाउनका लागि देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।

यस्तै मेलामा शान्ति सुव्यवस्था कायम गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइनेछ भने वडा कार्यालयले मेला व्यवस्थापन समिति गठन गरेर स्वयंसेवकहरु समेत तयार पारेको छ ।

निङ्गलाशैनी भगवतीको दर्शनका लागि हजारौं दर्शनार्थीहरु पुग्ने गरेका छन् । यो जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए ।

clock शनिबार ०४, कार्तिक २०८० १०:०९

प्रतिक्रिया