कृष्णपुर नगरपालिकाद्धारा ५ं० प्रतिशत अनुदानमा पावर टिलर वितरण

  शनिबार ०४, कार्तिक २०८० ०६:३१

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा पावर टिलर र मिनी पावर टिलर वितरण गरेको छ। शुक्रवार एक कार्यक्रमका बीच नगरप्रमुख हेमराज ओझाले किसानहरूलाई ५१ वटा पावर टिलर र २३ वटा मिनी पावर टिलर वितरण गरेका हुन।

उक्त पावर टिलर र मिनी पावर टिलर गत आर्थिक बर्षको कार्यक्रम अन्तरगत वितरण गरिएको कृषि शाखा प्रमुख लालबहादुर धामीले बताए। उनले गत आर्थिक बर्षको कार्यक्रममा ६९ वटा पावर टिलर र ४६ वटा मिनी पावर टिलर वितरण गर्ने कार्यक्रम अन्तरगत शुक्रबार ५१ वटा पावर टिलर र २३ वटा मिनी पावर टिलर वितरण गरिएको बताए। जसमा ५० प्रतिशत नगरपालिकाको र ५० प्रतिशत किसानको लगानी रहेको छ।

बाँकी पावर टिलर र मिनी पावर टिलर सामुदायिक वन सँगको साझेदारीमा वितरण गरिएको कृषि शाखा प्रमुख धामीले बताए। ‘सामुदायिक वन संगको साझेदारीमा १८ वटा पावर टिलर र २३ वटा मिनी पावर टिलर वितरण गरिएको छ।’ उनले भने ‘जसमा सामुदायिक वनको २५ प्रतिशत, नगरपालिकाको २५ प्रतिशत र किसानको ५० प्रतिशत लगानी साझेदारी रहेको थियो।

उनले पावर टिलर १ लाख ७४ हजार ५ सय र मिनी पावर टिलर ५३ हजार ५ सयमा नगरपालिकालाई ठेकेदारले उपलब्ध गराएको बताए। उनले पावर टिलर र मिनी पावर टिलर कृषि सहकारी, किसान समुह र सहकारीलाई मात्रै वितरण गरिएको बताए। उनले वितरण गरिएका पावर टिलरबाट पानी तान्ने, ढुवानी गर्ने, जोत्ने, धान काट्ने गहुँ काट्ने काम गर्न सकिने बताए।

कार्यक्रममा बोल्दै नगरप्रमुख हेमराज ओझाले गत बर्ष नै पावर टिलर र मिनी पावर टिलर वितरण गर्ने योजना भएपनि ठेकेदारले गत आर्थिक वर्षको असार मसान्त सम्म कृषि औजार उपलब्ध गराउन नसकेपछि वितरणमा ढिलाई भएको बताए।

उनले गरिखाने किसानले सेवा पाउनु पर्छ भन्ने ध्येयका साथ कृषि औजार किसानलाई वितरण गरिएको बताए। उनले वितरण गरिएका पावर टिलर र मिनी पावर टिलरको ५ वर्ष सम्म सही सदुपयोग भएको सुनिश्चितता गराउन समेत अनुगमन गरिने बताए। पावर टिलर पाउँदा किसानहरू निकै खुसी भएका छन्।

clock शनिबार ०४, कार्तिक २०८० ०६:३१

प्रतिक्रिया