इजरायलमा मारिएकाहरुको शव कुर्दै सुदूरपश्चिमका सात परिवार

  आइतबार २८, असोज २०८० १६:२०

धनगढी। इजरायलमा हमास समूहको आतङ्ककारी हमलामा परी सुदूरपश्चिम विश्वविद्यालयका सात जना विद्यार्थी मारिएपछि सुदुरपश्चिम शोकमा छ। इजरायलमा उक्त आतङ्ककारी हमलामा दश नेपालीमध्ये ज्यान गुमाउनेमध्ये धेरै सुदूरपश्चिमका छन्।

सिक्दै कमाउन एक महिनाअघि इजरायल गएका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका सात विद्यार्थीले इजरायलमा ज्यान गुमाएका हुन्। कैलालीको घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका–११ का गणेशकुमार नेपाली,बौनिया–३ कैलालीका आशीष चौधरी, लेकम-४ दार्चुलाका दीपेशराज विष्ट, डोटीका राजन फुलारा, पदम थापा र मालिकार्जुन-४ दार्चुलाका लोकेन्द्रसिंह धामीको आक्रमणमा निधन भएको छ।

प्यालिस्टेनी हमास समूहले आक्रमणमा परेर ती विद्यार्थीको ज्यान गएको दुःखद खबरले सबैको आँखा रसाउँछ । यो घटनाले विश्वविद्यालय परिवार मात्रै होइन, सिङ्गो शैक्षिक क्षेत्र र राष्ट्रियस्तरमै अपूरणीय क्षति पुगेको छ ।’ कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरका नारायणप्रसाद न्यौपानेले हमास समूहको आतङ्ककारी हमलामा परी ज्यान गुमाए । न्यौपानेको परिवारका आँखा साता दिनदेखि ओभाएका छैनन् । ६ कक्षा पढ्ने कान्छो छोरा पनि भक्कानिँदै हरिकृष्ण न्यौपानेलाई अँगालो मार्दा मन थाम्न नसकेर वरिपरिका सबैका आँखा रसाउँछन्।

आफन्त तथा कोही सान्त्वना दिन घरमा पुगेकाहरूसँग हरिकृष्ण हरक्षण भक्कानिरहन्छन् । टीकापुर बहुमुखी क्याम्पसमा कृषि विज्ञान स्नातक तह अन्तिम वर्षमा पढिरहेको माइलो छोरा नारायणको इजरायलमा हमास समूहको आक्रमणमा परेर मृत्यु भएपछि न्यौपाने परिवार विक्षिप्त बनेको छ । शुक्रबार न्यौपाने परिवारलाई भेट्न पुगेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन मन्त्री रमेश धामीले सान्त्वना दिने प्रयास गर्दा हरिकृष्णले केही बोल्न सकेनन् । ‘मानिस देख्दा भक्कानिन्छन्, एकोहोरो रोइरहन्छन्,’ नजिकै रहेका आफन्तले भने, ‘सास त पाएनौं पाएनौं, लास ल्याइदिनुप¥यो ।’

हरिकृष्णका माइला छोरा नारायणले बाल्यकालमै जन्म दिने आमा गुमाएका थिए । कान्छी आमाले हुर्काइन् । नारायणका दाजु धर्मराज भारतको बैंग्लोर बस्छन्। भाइको घटना सुनेपछि उनी तीन दिनअघि घर आएका छन् । शोकमा डुबेका धर्मराज पनि केही बोल्दैनन् । हरिकृष्णका भतिजा मोतीलालले शव ल्याउन जति ढिला ग¥यो, पीडा त्यति धेरै लम्बिने बताए । दुई दिनअघि इजरायलबाट उद्धार गरी ल्याएका नेपालीहरूसँगै शव पनि आउने आस गरेपनी नआएको बताए । कैलालीकै जोशीपुर–५ मैनपोखरीका ७० वर्षीय कन्हैयालाल चौधरीका दर्दनाक अवस्था छ।

श्रीमती उहिल्यै बितिन्, एक्लो छोरा सुरज ०५४ सालदेखि पक्षघात भएर अपांग छन्। कान्छी छोरीको छोरा आशिष चौधरी बालकदेखि आफूसँगै बस्ने बुढेसकालको एक्लो सहारा थिए । आशिषलाई बाल्यावस्थादेखि नै कन्हैयालालले आफैंसँग राखेर हुर्काएको, पढाएको छोरा दैवले चुँडेर लगेपछि शोक माथी शोक थपिएको उनी बताउँछन्। छ । त्यही एक्लो साहारा पनि दैवले लगेपछि भक्कानिन्छन् । उनले जिउँदो मुख त देख्न नपाइएपनि सरकारले चाँडै शव ल्याइदिनुपर्ने उनको भनाई छ ।

बझाङको जयपृथ्वी नगरपालिका–११ का धनलाल नेपालीको छोरा गणेशको इजरायल घटनामा मृत्यु भएको घटनाले शोकमै रहेको छ। उनले भने ‘छोरा छँदै छ भन्ने सोच्छु । छैन भनेर कसरी पत्याऊँ,’ बोल्दाबोल्दै भक्कानिन्छन् । न शास ‘ज्युँदो मुख देख्न नपाए नि लास त सरकारले चाँडै ल्याइदिनुपर्ने उनले भने ।

यस्तै इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका भीमदत्त नगरपालिका–३ भाँसीका विपिन जोशीको परिवार अन्योलमा छ । एक सातादेखि सम्पर्कविहीन छोराको अवस्थाले पीडा बढेको आमा पद्माले बताएका छिन् । आक्रमणकारीले अपहरण गरेको हाम्रो अनुमान छ, सञ्चारमाध्यममा पनि त्यही कुरा देखेका छौं, तर आधिकारिक कतैबाट पनि जानकारी नपाउँदा दुबिधामा रहेको बताइन्।

सरकारले चाँडोभन्दा चाँडो बेपत्ताहरुको अवस्था पत्ता लगाइदिनुपर्ने, मृत्यु भएकाहरुको शव छिटो भन्दा छिटो नेपालमा ल्याउनुपर्ने,इजरायलबाट नेपाल आउन चाहानेलाई सरकारले उद्धार गर्नुपर्ने आफन्त तथा पिडितको माग रहेको छ ।

clock आइतबार २८, असोज २०८० १६:२०

प्रतिक्रिया