दुई साता ढिलो बाहिरियो मनसुन, पश्चिमी वायुको प्रभावले पानी पर्न सक्ने

  आइतबार २८, असोज २०८० १६:१३

धनगढी । यस वर्षको मनसुन नेपालबाट दुई साता ढिलो गरी बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सरदर मितिभन्दा दुई साता ढिलो गरी आइतबारबाट मनसुनी प्रणाली बाहिरिएको हो। 

नेपालमा सामान्यतया मनसुन बाहिरिने मिति २ अक्टोबर हो। तर यस वर्ष १५ अक्टोबरमा मात्रै मनसुन बाहिरिएको छ। सुदूरपश्चिम, कर्णाली सहितका प्रदेशमा भने गत साता नै मनसुन बाहिरिएको थियो। मनसुन पश्चिम हुँदै क्रमशः देशको पूर्वी भेगबाट बाहिरिन्छ।

नेपालमा सामान्यतया १३ जूनमा मनसुन भित्रिन्छ। यस वर्ष १४ जूनमा मनसुन भित्रिएको थियो। १२४ दिनपछि आजबाट मनसुन बिदा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

नेपालमा हुने वार्षिक वर्षाको करीब ८० प्रतिशत पानी मनसुनी अवधिमा पर्छ। यस वर्ष भने बितेका वर्षहरूको सरदरभन्दा कम पानी परेको छ।

पछिल्ला वर्षमा मनसुन ढिलोसम्म लम्बिने र बढी अवधि सक्रिय हुने प्रवृत्ति देखिंदै आएको छ। गत वर्ष १३४ दिन मनसुनी प्रभाव कायम थियो।

जल तथा मौसम विज्ञान विभागले मनसुन सकिए पनि पश्चिमी वायुको प्रभावका कारण यो साता देशका विभिन्न स्थानमा पानी पर्न सक्ने जनाएको छ।

विभागले जारी गरेको विज्ञप्तिमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण सोमबारदेखि देशको सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका विभिन्न क्षेत्रमा मेघ गर्जन सहित हल्का वर्षा हुन सक्ने जनाइएको छ।

clock आइतबार २८, असोज २०८० १६:१३

प्रतिक्रिया