धनगढीमा रोजगारी दिने नाममा ५६ जनालाई ठगी, सञ्चालक फरार

  बिहिबार २५, असोज २०८० ०६:३३

धनगढी । धनगढीमा रोजगारी दिने नाममा ५६ जनालाई ठगी गरेको खुलेको छ। सुदूरपश्चिमका विभिन्न वडामा रोजगारी दिने भन्दै कार्यालय नै खोलेर ५६ जनाबाट १० लाख ठगी गरेको खुलेको हो। धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा उद्यमी सहयोग तथा तालिम केन्द्र प्रालि सञ्चालन गरेका ठग सञ्चालक अमरसिंह धामी भने अहिले फरार छन्।

सुदूरपश्चिमका प्रत्येक वडामा कर्मचारी राख्ने भन्दै केन्द्रले विज्ञापन गरेको थियो। विज्ञापनका आधारमा कर्मचारी भर्नाको प्रक्रिया असार ४ गतेबाट सुरु भएको थियो। कर्मचारीका लागि पोसाक, ल्यापटप र कर्मचारीको बीमा गर्ने भन्दै रकम सङ्कलन गरिएको हो।

यहाँका ५६ जनाबाट झन्डै १० लाख रुपैयाँ सङ्कलन गरेका केन्द्र सञ्चालक धामी अहिले फरार छन्। उनी २०८० असोज ९ गतेबाट सम्पर्कमा नआएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कैलाली निवेदन नै दिएका छन्।

पीडितहरूले उद्यमी सहयोग तथा तालिम केन्द्र प्रालिका सञ्चालक धामीले ठगेको भन्दै निवेदन दिएका हुन्। उनीहरूले केन्द्रमा रोजगारीका लागि फारम नै भरेर अन्तर्वार्तासमेत दिएका थिए। तर अहिले सञ्चालक फरार हुँदा पीडितले ठगिएको चाल पाएका हुन्। धामीको स्थायी ठेगाना कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ हो।

धामीको खोजीका लागि जिल्ला प्रशासन कार्यालय, कैलालीले प्रहरीलाई निर्देशन दिएको छ। तर धामीलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा भने लिन सकेको छैन्।

clock बिहिबार २५, असोज २०८० ०६:३३

प्रतिक्रिया