भूकम्पले घर चर्कायो, इजरायलमा छोरा मारिए

  मङ्गलबार २३, असोज २०८० ०६:४०

बझाङ । इजरायलमा भएको आतंककारी हमलामा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए। सुदूरपश्चिम विश्वविद्यालयले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पठाएका विद्यार्थी आक्रमणमा परेका हुन्। 

विद्रोही समूह हमासको आक्रमणमा परेर ज्यान गुमाउनेमा ७ जना सुदूरपश्चिमका छन्। तीमध्ये एक बझाङ जयपृथ्वी नगरपालिका–११ डाडाँगाउँका गणेश कुमार नेपाली पनि हुन्। 

उनी भदौ २५ मा इजरायल उडे। छोरा विदेशमा मारिएको खबरले नेपालीको परिवार शोकमा छ। ६० वर्षीय बुवा धनलाल भक्कानिँदै भन्छन्, ‘छोरालाई हेर्न पाए हुन्थ्यो, हामीले भोग्नुपर्ने दुःख त भोगिसक्यौं, सानो टुक्रा भए पनि हेर्न पाए हुन्थ्यो, रगतका टुक्रा हो।’

भूकम्पले घर चर्काएको पीडामा रहेका धनलालको परिवारमा छोराको निधनले अर्को ब्रजपात थपेको छ। वैदेशिक अध्ययनका क्रममा विदेश गएका विद्यार्थीको दुःखद खबर पूरै गाउँ नै शोकमग्न बनेको जयपृथ्वी नगरपालिका–११ सर्जन थापा बताउँछन्। 

‘गणेश मेरो साथी हो, हामी कक्षा १० सम्मसँगै पढ्यौँ,’ उनले नेपालखबरसंग भने, ‘हिजो त्यस्तो दुःख खबर सुन्नुपर्‍यो, होनहार युवाको निधनले गाउँ नै स्तब्ध छ।’

उनका अनुसार गणेश पढाइमा सानैदेखि जेहेन्दार थिए। पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै रुची राख्थे। नृत्य, गायन, कविता लेखनमा पनि उनी सहभागी भइरहन्थे।

कक्षा १० सम्मको पढाइ बझाङकै गणेशले सत्यवादी माध्यमिक विद्यालयबाट गरेका थिए। कक्षा १२ चितवनबाट उर्तिण गरेका उनी सुदूरपश्चिम विश्वविद्यालयमा बिएससी गरेपछि इजरायल गएका थिए। 

इजरायलमा सीप सिकेर आर्जन गर्दै स्वदेश फर्किएर कृषि क्रान्ति गर्ने गणेशको सपना विदेशमै बिलायो। गणेशको कृषिमा असाध्यै रूचि थियो। ‘कृषिमा क्रान्ति गर्नुपर्छ भन्थ्यो, कृषि उब्बाउले मात्रै नेपाल उन्नति गर्न सक्छ भन्ने मानेर काम ग¥थ्यो,’ गणेशका दाई विशाल भन्छन्, ‘संस्था पनि खोलेको थियो, तर काम गर्नै पाएन।’

उनका दाइ निजामती सेवामा छन्। गणेशको परिवारमा दाइसहित बुवा, आमा, भाउजू र भाइ पनि छन्। बुवा धनलाल सिलाइको काम गर्छन्। त्यहीँबाट कमाएको पैशाले गणेश र विशाललाई पढाएका थिए। 

ऋणदान गरेर पढाएको बुढेसकालको सहारा छोरा विदेशमा मारिएपछि धनलाल सम्हालिन सकेका छैनन्। परिवारको अन्तिम चाहना छोराको सम्मान साथ गाउँमै दाहसंस्कार गर्ने छ। 

गणेशको परिवारले शव घर ल्याइदिन सरकारसंग आग्रह गरेका छन्। ‘सास त पाएनौँ, सरकारले लास घरसम्म ल्याइदिए हुन्थ्यो, गाउँमै सम्मान साथ दाहसंस्कार गर्थ्यौँ,’ गणेशका दाई विकाशले भने, ‘लासै भएपनि अनुहार हेर्न पाए हुन्थ्यो।’

clock मङ्गलबार २३, असोज २०८० ०६:४०

प्रतिक्रिया