सुदूरपश्चिममा भूकम्पले सात हजारभन्दा बढी संरचना क्षति

  मङ्गलबार २३, असोज २०८० ०६:३४

धनगढी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा गएको भूकम्पबाट सात हजारभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । गत हप्ताको मङ्गलबार दिउँसो सदरमुकाम चैनपुरलगायतका क्षेत्रमा केन्द्र बनाई ५.३ र ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । 

भूकम्पका कारण एक जनाको मृत्यु र २९ जना घाइते भएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । घाइते हुनेमा बझाङमा २१, अछाममा तीन, बैतडीका तीन र बाजुरामा दुई जना छन् । 

यसै गरी भूकम्पबाट सात हजार १६५ वटा भौतिक संरचनामा क्षति पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रादेशिक विपत् कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ८३८ निजी घर र छ वटा सरकारी कार्यालय गरी ८४४ संरचना पूर्ण रूपमा क्षति भएको छ । 

त्यसै गरी छ हजार २३८ निजी घर र ८३ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण भौतिक संरचना भत्किँदा नौ वटा पशुचौपायाको मृत्यु र एउटा घाइते भएको केन्द्रका प्रादेशिक सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो । 

भूकम्पले बाजुरा जिल्लामा सबैभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । सो जिल्लामा ६६१ निजी घर पूर्ण रूपमा क्षति भएको छ । खप्तड छेडेदह गाउँपालिकामा २८६ घर, गौमूलमा २५, त्रिवेणी नगरपालिकामा ११०, बडीमालिकामा ११४ र बुढीगङ्गा नगरपालिकामा १२६ घरमा पूर्ण रूपमा क्षति पुगेको छ । पाँच हजार ९२ निजी घर र २८ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको जनाइएको छ ।

भूकम्पको केन्द्रबिन्दु भएको बझाङमा १५८ निजी घर र पाँच सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् । एक हजार ९८ निजी घर र ३० वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको जनाइएको छ ।  

clock मङ्गलबार २३, असोज २०८० ०६:३४

प्रतिक्रिया