इजरायलमा आक्रमण : शोकमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीले निकाले मौन र्‍याली

  सोमबार २२, असोज २०८० ०९:२६

टीकापुर । प्यालेस्टाइन विद्रोही समूह हमासले इजरायलविरुद्ध गरेको आक्रमणमा परी केही विद्यार्थी घाइते र मृत्यु भएपछि कैलालीको टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय शोकमा डुबेको छ। शनिबार भएको विद्रोहीको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’कार्यक्रमका लागि इजरायल गएका स्कुल अफ एग्रिकल्चरका विद्यार्थी त्यहाँ रहेको कृषि फर्ममा कार्यरत रहँदा घाइते र अन्य विद्यार्थी हताहत भएको खबरले स्कुल शोकमा डुबेको हो। 

लगििस्कुल अफ एग्रिकल्चर कृषि विज्ञान संकायका विद्यार्थीको निधन भएपछि आज बिहान टीकापुरमा विद्यार्थीले मौन र्‍याली निकालेका छन्। विभिन्न प्ले कार्ड बोकेर १ हजारभन्दा बढी विद्यार्थी मौन र्‍यालीमा सहभागी भएका हुन्। उनीहरुले तत्काल इजरायलमा रहेका विद्यार्थी र नेपालीलाई उद्धार गर्न सरकारसँग माग गरेका छन्। 

उनीहरुले ‘ए सरकार दुख्छ कि नाई ?’, ‘ ए सरकार कृषिलाई सपार्छस् कि कृषि कै नाममा मार्छस्’ ,‘सरकार कहाँ छ’ जस्ता प्लेकार्ड बोकेर सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन्।

स्कुल प्रमुख सुशील न्यौपानेले इजरायलमा भएको आक्रमणमा विद्यार्थी परेको घटनाले कृषि विज्ञान संकाय शोकमा डुबेको बताए। ‘कृषि विज्ञान संकायले आन्तरिक परीक्षा र पठनपाठन रोकेको छ’, प्रमुख न्यौपानेले भने, ‘यस्तो अवस्थामा कसरी पढाउनु ? हामी विद्यार्थीको अवस्थाको सोधीखोजीमै लागेका छौं।’

कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमिस्टारका ४९ जना विद्यार्थीमध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए। उनीहरूमध्ये १० जना छात्रा छन्। उनीहरू १० महिनाका लागि इजरायल गएको न्यौपानेले बताए। विद्यार्थीले लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो। कृषि विज्ञान संकायले कार्यक्रमअन्तर्गत पहिलोपटक विद्यार्थी पठाएको थियो। 

इजरायली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायणप्रसाद न्यौपाने, बाउनिया ३ कैलालीका आशिष चौधरी, जयपृथ्वी ६ बझाङका गणेशकुमार नेपाली, लेकाम ५ दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, सपही ६ धनुषाका आनन्द शाह, मधुवन १ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली डोटीका राजन फुलारा, लामिखाल ८ डोटीका पदम थापा पदम थापा र सारदा ३ सल्यानका प्रवेश भण्डारी रहेका छन्।

राजदूतावासका अनुसार ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरूमध्ये सल्यानका प्रमोद केसी र कैलालीका वीरेन्द्र चौधरी सकुलस छन्। विद्रोहीको आक्रमणबाट चार जना घाइतेमध्ये सल्यानका विधान सेजवा र दाङका प्रविन डाँगीलाई खुट्टामा चोट लागेको छ भने कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल अस्पतालमा सकुशल छन्। कञ्चनपुरका बिपिन जोसी भने सम्पर्कविहीन रहेको रिजालले बताइन्। 

clock सोमबार २२, असोज २०८० ०९:२६

प्रतिक्रिया