दसैँतिहार मनाउन धमाधम स्वदेश फर्किंदै

  आइतबार २१, असोज २०८० १०:२४

धनगढी । रोजगारीको सिलसिलामा भारत पसेका नेपाली दसैँतिहार मनाउन धमाधम स्वदेश फर्किन थालेका छन् । लामो समयदेखि भारतमा बस्दै आएकादेखि बर्खे खेती लगाएर भारत गएकाहरू फर्किरहेका छन् । 

प्रदेशका विभिन्न नाकामा बिहान सबेरैदेखि भिड लाग्ने गरेको छ । बर्खे खेतीपातीको काम सकेर धेरै नेपाली भारतको सिमला, हिमाचल प्रदेशलगायत विभिन्न स्थानमा काम गर्न जाने गरेका छन् । 

अहिले धान काट्ने बेला भएकाले पनि मौसमी कामदारका रूपमा गएकाहरू घर फर्कने क्रम बढ्दो छ । भारतको सिमलामा करिब अढाई महिना काम गरेर नेपाल फर्किएका कैलारी गाउँपालिका–७ का खेमराज चौधरी उताको काम सकियो, अब यता काम गर्नु प¥यो भन्नुहुन्छ । 

चाडपर्व पनि मनाउने र धान पाकेकाले काट्न आएको भनाइ उहाँको छ । खेतीपातीको काम सकेर मौसमी कामदारका रूपमा कमाउनका लागि गएकाले चाडपर्व र गहुँ खेतीका लागि खर्च जोहो गरेर फर्कने गरेका जनाइएको छ । 

चाडपर्व नजिकिएपछि दैनिक एक हजारभन्दा बढी नेपाली विभिन्न नाका हुँदै स्वदेश फर्किरहेको प्रदेश सरकारले जनाएको छ । शुक्रबार गौरीफन्टा नाका भएर ७६२, गड्डाचौकी नाका भएर १७६ र बैतडीको झुलाघाट नाका भएर ४१ जना नेपाली कामदार स्वदेश फर्किएका छन् । 

यसै गरी कैलालीको खक्रौला नाका, चन्दन चौकी नाकालगायत अन्य नाकाबाट पनि कामदार फर्किरहेका छन् । अन्य नाकाबाट फर्कने कामदारको विवरण राख्ने गरिएको छैन । चाडपर्वका बेला नेपाल फर्किनेहरू भारतसहित सीमा क्षेत्रमा लुटिने पनि गरेका छन् । 

त्यस्तो अवस्था आउन नदिन सीमा नाकामा सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका साथै सीमा तैनाथ भारतीय सीमा सुरक्षा बलसँग पनि छलफल गरिएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ । भारतीय सुरक्षाकर्मीले ३५ हजार भारु नगद बोकेर आएकालाई दुःख दिने गरेको बताइएको छ । 

clock आइतबार २१, असोज २०८० १०:२४

प्रतिक्रिया