सुदूरपश्चिममा भूकम्पः विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बस्दै

  बिहिबार १८, असोज २०८० ०९:३७

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भूकम्पले पुर्‍याएको क्षति लगायत विषयबारे छलफल गर्न आज राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबारका लागि प्राधिकरणको आकस्मिक बैठक बोलाएका हुन्। 

मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल हुने बताइएको छ। बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापनालगायतका विषयमा पनि छलफल हुने बताइएको छ।

बैठक बस्नुअघि बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका थिए।

मंगलबार बझाङ केन्द्रविन्दु बनाएर गएको भूकम्पको असर सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा देखिएको छ। भूकम्पका कारण पहाडी जिल्लामा १०७ निजी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। ३६२ घरमा आंशिक क्षति पुगेको छ। 

भूकम्पको केन्द्रबिन्दू रहेको बझाङ जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ। सबै जिल्लामा हाल सम्म २७ जना घाइते भएका छन्। 

भूकम्पका कारण बझाङमा ३४ वटा निजी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। यस्तै, २४५ वटा निजी घरमा आंशिक क्षति पुगेको छ। 

clock बिहिबार १८, असोज २०८० ०९:३७

प्रतिक्रिया