बझाङ भूकम्प :  १०७ भवन पूर्ण रुपमा क्षतिग्रस्त हुँदा ३६२ मा आंशिक क्षति, १९ सरकारी भवन

  बिहिबार १८, असोज २०८० ०६:४१

धनगढी । मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षतिको विवरण संकलन गर्ने क्रम जारी छ। सुदूरपश्चिमका धेरै जिल्लाहरुमा भूकम्पले भौतिक रुपमा क्षति गरेको छ। जस अन्तर्गत बझाङमा १९ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ भने २ वटा पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन्।

यस्तै बझाङकै २४५ स्थानीयको घरमा आंशिक क्षति पुगेको छ भने ७० घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन्। एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। यस्तै बाजुरामा ९ वटा सरकारी भवनमा आंशिक क्षति भएको छ। १६ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त हुँदा ४४ वटामा आंशिक क्षति पुगेको छ। बाजुरामा भूकम्पबाट दुई जना घाइते भएका छन्।

यस्तै डोटीमा पाँचवटा सरकार भवनमा आंशिक क्षति भएको छ। स्थानीयको एक घर आंशिक र एक घरमा पूर्ण क्षति पुगेको छ। भूकम्पबाट अछाममा ५ जना घाइते भएका छन् भने स्थानीयको १७ घरमा आंशिक र १ वटा घरमा पूर्ण क्षति भएको छ। यस्तै ६ वटा सरकारी भवनमा आंशिक क्षति हुँदा एउटा सरकारी भवनमा पूर्ण क्षति पुगेको छ।

बैतडीमा ६ वटा सरकारी भवनमा आंशिक क्षति हुँदा दुईवटा पूर्ण क्षतिग्रस्त बनेका छन्। स्थानीयका ६ घरमा आंशिश क्षति र दुईवटा पूर्ण क्षतिग्रस्त बनेका छन्। दुई जना भूकम्पबाट घाइते भएका छन्। यस्तै डडेलधुरामा एउटा सरकारी र १२ वटा स्थानीयको घरमा आंशिक क्षति पुगेको छ। दार्चुलामा भने तीनवटा सरकारी भवनमा आंशिक क्षति भएको तथ्यांकमा उल्लेख छ।

बझाङ केन्द्रविन्दू भएर गएको भूकम्पको धक्का नेपालको कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा पनि धक्का महसुस भएको थियो। यस्तै, भारतको उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र दिल्लीमा पनि महसुस भएको थियो।

गत १ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा ६ म्याग्निच्यूडभन्दा माथिको तीव्रता भएका ३ वटा भूकम्प गएका छन्। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार २०७९ कात्तिक यता सुदूरपश्चिम केन्द्रविन्दू भएर ४ म्याग्निच्यूडभन्दा माथिको तीव्रता भएका ५० वटा भूकम्प गएका छन्। यस्तै, ४ म्याग्निच्यूडभन्दा कमको तीव्रता भएका २ हजार ७८ भूकम्प गएका छन्।

२०७९ कात्तिक २२ गते डोटीको खप्तड क्षेत्र आसपास केन्द्रविन्दू भएर ६।६ म्याग्निच्यूडको भूकम्प गएको थियो। उक्त भूकम्पको धक्काले भत्किएका भौतिक संरचनामा च्यापिएर डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरीगाउँका ६ जनाको मृत्यु भएको थियो।

clock बिहिबार १८, असोज २०८० ०६:४१

प्रतिक्रिया