बझाङमा भूकम्पः एकजनाको मृत्यु, २७ घाइते, ३०० बढी घर भत्किए

  बुधबार १७, असोज २०८० १०:११

बझाङ । हिजो बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर सुदूरपश्चिम प्रदेशमा एकजनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २७ पुगेको छ।

टिमुर टिप्न मंगलवार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीेको शव आज (बुधबार) फेला परेको हो।

पहिरोमा च्यापिएको अवस्थामा फेला परेको शव निकाल्न जिल्ला प्रहरी कार्यालय बझाङबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले घाइतेको संख्या २७ पुगेको जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै बझाङमा १८ जना, अछाममा ५, बाजुरामा २ र बैतडीमा २ जना घाइते भएका छन्।

उनीहरूको स्थानीय स्वास्थ संस्थाहरूमा उपचार भइरहेको छ। यस्तै भूकम्पले बझाङ, बाजुरा, अछाम र बैतडीमा ७६ वटा निजी घर पूर्ण रूपमा भत्किएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। यस्तै ३०१ घरमा आशिंक क्षति पुगेको बताइएको छ।

राति चारपटक गयो भूकम्प
बझाङमा गएराति ४ पटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर ४ पटक गएको हो।

केन्द्रका अनुसार गएराति १२ : १६ बजे ४.१ रेक्टर स्केलको, १२ :५० मा ४.३ रेक्टर स्केलको, बिहान ४:२७ बजे ४.३ रेक्टर स्केलको र ५ :४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।

हिजो मंगलबार दिउँसो पनि बझाङ केन्द्रविन्दु बनाएर ५.३, ६.३,५.१,४.१, ४.१, ४.३,५ र ५ रेक्टर स्केलका गरि ८ पटक गएको केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार यहाँ १२ वटा पराकम्पन गएका थिए।

भूकम्पको धक्का सुदूरपश्चिमका ९ वटै जिल्लामा परेको थियो। प्रदेश राजधानी धनगढी, महेन्द्रनगर, डडेल्धुरा, दीपायललगायतका स्थानमा पनि भूकम्पका कारण मान्छेहरू सडकमा निस्किएका थिए।

clock बुधबार १७, असोज २०८० १०:११

प्रतिक्रिया