बझाङ भूकम्प : ठाउँठाउँमा घर भत्किए

  मङ्गलबार १६, असोज २०८० १६:०४

धनगढी । बझाङमा मंगलबार गएको शक्तिशाली भूकम्पपछि सर्वसाधारण त्रसित बनेका छन्  । बझाङ सदरमुकाम चैनपुरका कैयन पक्कीघरहरु चर्किएको स्थानीय पत्रकार सम्राट सिंहले जानकारी दिए ।

 ‘कैयन घरहरु चर्किएका छन्, ग्रामीण क्षेत्रमा कहाँ के भयो क्षतिको कुनै विवरण आइसकेको छैन’, उनले भने । यद्यपि ग्रामीण क्षेत्रमा ठाउँठाउँमा घरहरु भत्किएको खबर आएको उनले बताए । 

उनका अनुसार हालसम्म मानवीय क्षतीको कुनै विवरण भने आइसकेको छैन । स्थानीयका अनुसार दुर्गाथली गाउँपालिका वडा नम्बर २ स्थित महालिंग आधारभूत विद्यालय भवन भत्किएको छ । 

भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ । व्यवसायीहरुदेखि सर्वसाधारणसम्म अहिले खुला ठाउँमा भेला भएर बसिरहेको पत्रकार सिंहले जानकारी दिए । 

मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 

आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो ।

clock मङ्गलबार १६, असोज २०८० १६:०४

प्रतिक्रिया