यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

  सोमबार १५, असोज २०८० १०:२१

धनगढी । यौन दुर्व्यवहार गरेको आरोपमा कारबाही सिफारिस भएका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालले राजीनामा दिएका छन् । छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएपछि उनले राजीनामा दिएका हुन् । 

प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालय पठाएको छ । स्रोतका अनुसार निलम्बन फुकुवा गरी राजीनामा स्वीकृत गर्न लागिएको छ । तर, यौन दुर्व्यवहारमा कानुनी कारबाहीबाट भने उनले उन्मुक्ति पाएका छन् । 

नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखका रूपमा कार्यरत रहँदा गत जेठमा उनले महिला कर्मचारीलाई दुव्र्यवहार गरेका थिए । बिदामा घर जान लागेकी कर्मचारीलाई उनले ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँगै बस्न प्रस्ताव गरेको छानबिनमा खुलेको छ । 

महिला प्रहरीले सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी दिएपछि छानबिन सुरु भएको थियो । सोही दिन उनलाई जिम्मेवारीबाट हटाइएकोमा प्रारम्भिक छानबिनपछि गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

डिआइजी सुरेन्द्र मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेर स्थलगत अध्ययन गरिएको थियो । सबै पक्षसँगको कुराकानी र प्राविधिक विश्लेषणका आधारमा उनले महिला हवल्दारलाई दुव्र्यवहार गरेको पुष्टि भएको थियो । 

समितिको निष्कर्षपछि पाँच ग्रेड घटुवाको कारबाही गर्न लागेपछि राजीनामा दिएर उनले संगठनबाट बाहिरिने प्रस्ताव गरेका थिए । सोहीअनुसार उनको निलम्बन फुकुवा गरेर राजीनामाको अवसर दिइएको प्रहरी स्रोत बताउँछ । पालले अन्य महिला प्रहरीलाई पनि विगतमा त्यसैगरी दुर्व्यवहार गरेकोसमेत खुलेको थियो ।  उनी राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण गरिएका अधिकृत हुन् । 

clock सोमबार १५, असोज २०८० १०:२१

प्रतिक्रिया