डडेल्धुरामा सीमा सुरक्षामा खटिएका प्रहरी आफै असुरक्षित

  सोमबार १५, असोज २०८० ०७:४१

डडेल्धुरा । डडेल्धुराका सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल नेपालका (विओपी) बिना पूर्वाधारका रहेका छन्। जिल्लाका परशुराम नगरपालिका अन्तरगत सीमावर्ती क्षेत्रमा रहेका पाँच वटा विओपी मध्ये सादँनी, तातापानी, परिगाँउ र रुपाली गाडको पूर्वाधार निर्माण हुन सकेको छैन्।

सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीहरूका लागि आवश्यक पूर्वाधार नहुँदा उनीहरूलाई समस्या रहेको छ। डडेल्धुरामा नेपाल–भारत सीमा क्षेत्रमा ५ वटा विओपी स्थापना भएका छन्।

जसमध्ये सशस्त्र प्रहरी वल नेपाल सिमशिर्षकोे विओपीको मात्रै भौतिक संरचना रहेको छ। सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको बढ्दो उपस्थितिले नाका वासीले सुरक्षाको अनुभुति गर्न पाएको सशस्त्र प्रहरी वल नेपाल ५२ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक बिरेन्द्रबहादुर पालले बताए।

अस्तव्यस्त अवस्थामा रहेका टहरामा बसेर नागरिकको सुरक्षा मात्रै होइन सीमा क्षेत्रबाट हुन सक्ने अपराधिक घटना नियन्त्रणका लागि समेत सशस्त्र प्रहरीले काम गरि रहेको नायब उपरीक्षक पालले बताए।

नागरिकको सुरक्षामा खटिएको प्रहरीको बसोबासमा केही समस्या भएको भए पनि शान्ति सुरक्षा र तस्करी रोकथाममा नागरिकलाई सुरक्षित महसुस पार्न सकिएको परशुराम नगरपालिकाका उपप्रमुख बिमला बोहराले बताइन्।

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको विओपी स्थापना भएपछि चोरी तस्करी, अवैध कारोबार जस्ता गतिविधिमा नियन्त्रण भएको परशुराम नगरपालिका –५ का वडाअध्यक्ष दिलबहादुर शाहीले बताए।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले सीमा क्षेत्रमा बसेको सुरक्षा निकायको खाने, बस्ने लगायतका समस्या रहेको बताए। उनले भौतिक पूर्वाधारहरू सबै ठाउँमा निर्माण नभइसकेको बताउदै बिस्तारै समस्या हल हुँदै जाने बताए।

शनिबार जिल्लाको आलिताल गाउँपालिका र परशुराम नगरपालिका अन्तरर्गतका सुरक्षा निकायहरुको स्थलगत अनुगमन तथा निरीक्षण गर्दे प्रजिअ न्यौपानेले नागरिकहरुलाई सकारात्मक अनुभुति दिलाउने गरि सुरक्षासँगै सामाजिक गतिविधिमा सक्रियता बढाउन सुरक्षाकर्मीहरुलाई निर्देशन दिए।

ईलाका प्रहरी कार्यालय तथा विभिन्न प्रहरी चौकीको अनुगमन गर्न पुगेका प्रहरी नायव उपरीक्षक दिपककुमार कार्कीले अपराध जन्य गतिविधि न्युनिकरण गर्नमा प्रहरी सक्रिय हुनुपर्ने बताए।

जनताको शान्ति सुरक्षासँगै सामाजिक अपराध र घरेलु हिंसामा कमी ल्याउन प्रहरीले गाउँ टोल अभियान सञ्चालन गरिरहेको उनको भनाइ छ। लागु औषध दुर्वेसनी र विभिन्न खाले तस्करी रोक्न प्रहरी सक्रिय हुनुपर्ने कुरामा डीएसपी कार्कीले जोड दिए।

clock सोमबार १५, असोज २०८० ०७:४१

प्रतिक्रिया