थारु कल्याण कारिणी सभाको सभापतिमा चौधरी विजयी

  आइतबार १४, असोज २०८० ०९:५४

धनगढी । थारु कल्याण कारिणी सभा कैलालीको सभापतिमा वीरबहादुर चौधरी विजयी भएका छन्। नागरिक समाजका अगुवा एवम् अभियन्ता दिलबहादुर चौधरीलाई तीन मतले पराजित गर्दै वीरबहादुर सभापतिमा निर्वाचित भएका हुन । विजयी हुनु भएका चौधरीले १५३ र पराजित दिलबहादुर चौधरीले १५० मत प्राप्त गरे । सभापतिका अर्का उम्मेदवार देशराम चौधरीले दुई मत प्राप्त गर्नुभयो । 

त्यस्तै, उपसभापतिमा १८७ मत पाएर चुनी राम चौधरी र १५६ मतका साथ लक्ष्मण चौधरी विजयी भएका छन । तीन जना उपसभापति रहने व्यवस्था रहेकोमा एक जना महिला हुनु पर्दछ । महिला उपसभापतिमा सुस्मिता चौधरी यसअघि नै निर्विरोध चयन भएकी छीन् । उपसभापतिका उम्मेदवार बतासु चौधरी र मानबहादुर चौधरी पराजित भए । 

सचिवमा १६० मत ल्याएर बुधराम चौधरी विजयी भए । अधिकारकर्मी बसन्ती चौधरीलाई पराजित गरी उनी विजयी भउका हुन । पराजित चौधरीले १४३ मत प्राप्त गरीन् । यस्तै, सहसचिवमा १५२ मत प्राप्त गरेर विनोद चौधरी विजयी भए । उनका प्रतिद्वन्द्वी रतन चौधरीले १२८ मत प्राप्त गरे । 

कोषाध्यक्षमा १६१ मत प्राप्त गरेर दीव्यप्रयासी चौधरी विजयी भए। उनका प्रतिद्वन्द्वी सुनिता चौधरीले १३६ मत प्राप्त गरीन् । यसअघि असोज ६ गते सभाको नवौं अधिवेशन उद्घाटन गरिएको थियो । अधिवेशनको बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिए पनि आकाङ्क्षी बढी भएपछि शनिवार निर्वाचन गरिएको हो । 

थारु समुदायको विशुद्ध हक अधिकारका लागि स्थापित सो संस्थाको अधिवेशनमा राजनीति हाबी भएको थियो । राजनीतिक आस्थाका आधारमा उम्मेदवार खडा गरिएपछि सर्वसम्मतिमा नेतृत्व चयनको प्रयास विफल भएको थियो । निर्वाचित पदाधिकारी नेपाली काङ्ग्रेस निकटका रहेको बताइएको छ । 

clock आइतबार १४, असोज २०८० ०९:५४

प्रतिक्रिया