सुदूरपश्चिम प्रदेश सभामा अख्तियारको छड्के

  बुधबार १०, असोज २०८० १४:१३

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले छड्के हानेको छ। स्रोतका अनुसार हिजो (सोमबार) अख्तियारको एक टोलीले प्रदेश सभामा छ्ड्के अनुगमन गरेको हो।

संरचना तथा भवन निर्माणको कार्यमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारको टोलीले छड्के हानेको हो। प्रदेश सभाको गत वर्ष नै निर्माण गरिनुपर्ने गेट र संसदीय दलको भवनहरुको काम नसकी भुक्तानी दिएको भन्ने उजुरीका आधारमा अख्तियारले छड्के हानेको स्रोतले जनाएको छ।

सो सम्बन्धमा अख्तियारको टोलीले कागजातसहित स्थलगत निरीक्षण नै गरेको बताइन्छ। यता प्रदेश सभा सचिवालय स्रोतले भने काम सम्पन्न भैसकेको अवस्थामा नै भुक्तानी दिइएको दाबी गरेको छ।

गत आर्थिक वर्षको बजेटमा गौरीशंकर निर्माण सेवाले करिब १० लाखको प्रदेश सभामा गेट बनाउने ठेक्का पाएको थियो भने अर्को भवनको ठेक्का विजय निर्माण सेवाले पाएको थियो।

उता, अख्तियारले हिजो स्थलगत अनुगमन गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

clock बुधबार १०, असोज २०८० १४:१३

प्रतिक्रिया