बाजुराको कोल्टी डिपोमा चामल सकियो

  बुधबार १०, असोज २०८० १३:२६

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी डिपोमा मंगलबारदेखि चामल सकिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटको डिपो कार्यालय कोल्टीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै डिपोमा रहेको मौज्दात चामल सकिएको जनाउँदै बिक्रीवितरण बन्द गरेको छ।

कोल्टी डिपोमा गत आर्थिक वर्षका लागि स्वीकृत भएको एक हजार ५५२ क्विन्टल चामल सर्वसाधारणलाई बिक्री गरेपछि चामल सकिएकाले डिपो कार्यालयको गोदाममा ताला लगाएको डिपो प्रमुख भीमबहादुर बुढाले बताए।

आपतकालीन विपद्का लागि बाहेक चामलको मौज्दात सकिएकाले सर्वसाधरणका लागि चामल बिक्री बन्द गरिएको डिपो प्रमुख बुढाले बताए। कोल्टी डिपोमा चामल ढुवानीका लागि प्रादेशिक कार्यालयसँग समन्वय भइरहेको छ।

दशैँ नजिकै आएकाले तत्काल चामल ढुवानीका लागि आवश्यक पहल गर्न जिल्ला प्रशासन कार्यालय बाजुरालाई आग्रह गरिएको उनले बताए। शनिबार मार्तडीको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा जिरा–मसिनो दुई सय क्वीन्टल चामल पुगेको भएपनि कोल्टीमा भने चामल सकिएको छ।

मार्तडी शाखामा ढुवानी भएर पुगेको जिरा मसिनो चामल भने बिक्री नहुने अवस्था देखिएको छ। शाखामा गएका सेवाग्राहीले अरुवा मोटो चामल खाजेपछि जिरा मसिनो चामल कम मात्रामा बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखाले जनाएको छ।

जिरा–मसिनो चामलको मूल्य महँगो भएको भन्दै सर्वसाधारणले खरिदका लागि चासो नदेखाएको शाखाका प्रमुख मेखराज ओझाले बताए। प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पछि स्वीकृत हुने गरी अहिले ४ सय क्विन्टल बढी चामल ढुवानी गरेको छ।

clock बुधबार १०, असोज २०८० १३:२६

प्रतिक्रिया