धनगढीमा आजदेखि हार्डवेयर एक्सपो

  बुधबार १०, असोज २०८० ०९:२०

धनगढी । व्यापार व्यवसाय प्रबद्र्धन गरी प्रयोगकर्तालाई गुणस्तरीय निर्माण सामाग्री छनौट गर्न सचेतना प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हार्डवेयर एक्सपो आजलीदेखि शुरु हुँदैछ । उत्पादक–व्यापारी–प्रयोगकर्ताबीच त्रिपक्षीय अन्तरक्रियाको माध्यमबाट हार्डवेयरल एक्स्पोले व्यवसाय प्रबद्र्धन गर्ने बताइएको छ ।

एक्स्पो अवलोकन गर्न आउने आमनागरिकलाई निर्माण सामग्रीबारे विज्ञमार्फत् जानकारी दिइने आयोजक कैलाली हार्डवेयर व्यवसायी संघले जनाएको छ । संघका अध्यक्ष कुबेर शाहीले आजदेखि हुने मेलाको तयारी पुरा भएको बताए । स्टलहरु बुकिङ गर्ने, प्रायोजक जुटाउने, प्रचारप्रसार गर्नेलगायत तयारी पुरा भएको उनले बताए । ‘प्रचारप्रसार, अथिति सत्कार, स्टल तथा मञ्च निर्माण, आर्थिकलगायत छुट्टाछुट्टै समिति गठन गरेर तयारी पुरा गरेका छौँ’ अध्यक्ष शाहीले भने । एक्स्पो असोज१४ गतेसम्म सौराइ स्क्वायरमा सञ्चालन हुने छ ।

एक्स्पोमा निर्माण तथा हार्डवेयर सामग्रीसँग सम्बन्धित करिब ५५ वटा स्टल निर्माण गरिएको छ । हार्डवेयर तथा निर्माण सामग्री उत्पादक कम्पनीहरुले स्टलहरु बुकिङ्ग गरी स्टलमा निर्माण सामाग्री र सोको विषयमा जानकारीहरु राखिसकेका छन् । अवलोकनकर्ताले निर्माण तथा हार्डवेयरसँग सम्बन्धित सम्पूर्णसामग्री एउटै छानामुनि अवलोकन गरेर ती सामग्रीबारे जानकारी लिन पाउने संघले जनाएको छ ।

‘संरचना निर्माणको योजनामा रहनुभएका व्यक्ति, सरोकारवाला र आमनागरिकलाई निर्माणसँग सम्बन्धित सबै प्रकारका सामग्री, तिनको मूल्य, गुणस्तर र निर्माण क्षेत्रको नयाँ प्रविधिबारे एक्स्पोका माध्यमबाट जानकारी गराउन खोजेका हौँ’ अध्यक्ष शाहीले भने, ‘यसबाट व्यवसाय वृद्धिमा पनि मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।’राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुले उत्पादन गरेका निर्माण सामग्रीबारे अवलोकनकर्ताले जानकारी हासिल गर्नसक्ने उनले बताए ।

सरिया, सिमेन्टदेखि संरचना निर्माण गर्दा आवश्यक पर्ने सबै प्रकारका सामग्री, टायल, मार्बल, धारा, रङरोगनलगायत फिनिसिङका सामग्रीहरु प्रदर्शनीमा राखिनेछन् । व्यवसायिक तथा घर निर्माण कर्जाबारे जानकारी दिन केही बैंकका स्टलसमेत राखिने संघले जनाएको छ । स्थानीय खाना तथा नास्ताका परिकारका स्टलहरु पनि रहको अध्यक्ष शाहीले जनाए ।

इन्जिनियरिङ र वास्तुशास्त्रबारे परामर्श दिइने

अवलोकनकर्तालेआफूले बनाउन लागेको संरचनाको डिजाइन तथा वास्तुकलाबारे परामर्श लिनसक्ने व्यवस्था एक्स्पोमा गरिएको छ । इन्जिनियर र प्राविधिकले संरचनाको डिजाइनबारे परामर्श दिने अध्यक्ष शाहीले बताए । ‘इन्जिनियर र प्राविधिकले घरलगायत संरचनाको डिजाइन तथा सीमित क्षेत्रफलमा कसरी आकर्षक घर निर्माण गर्ने भनेर अवलोकनकर्तालाई परामर्श दिनुहुनेछ’ अध्यक्ष शाहीले भने, ‘भूकम्प प्रतिरोधी घर निर्माणबारे पनि जानकारी दिनेछौं ।’

त्यस्तै संरचना निर्माण गर्दा बास्तुशास्त्रको प्रयोगको बारेमा पनि बास्तुविज्ञले परामर्श दिने संघले जनाएको छ । बास्तुशास्त्रबारे परामर्श दिनका लागि बरिष्ठ बास्तुविज्ञ आउने तय भएको अध्यक्ष शाहले जानकारी दिए ।इन्जिनियरिङ्ग र बास्तुशास्त्रबारेको परामर्शलेसंरचना निर्माण गर्न चाहनेहरु लाभान्वित हुने संघको दावी छ ।

संरचना निर्माणकानयाँ प्रविधिबारे जानकारी दिइने

संरचना निर्माणका क्रममा प्रयोग हुने पछिल्ला नयाँनयाँ प्रविधि र निर्माण सामग्रीबारे पनि अवलोकनकर्ताले जानकारी हासिल गर्नसक्ने व्यवस्था गरिएको कैलाली हार्डवेयर व्यवसायी संघका संस्थापक अध्यक्ष मायाप्रकाश भट्टले बताए । ‘संरचना निर्माणमा नयाँ प्रविधि र सामग्रीको प्रयोग बढ्दो छ, मेलामा यसबारे पनि अवलोकनकर्तालाई जानकारी गराउने छौँ’ भट्टले भने, ‘अहिले कम रकममा पनि भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न सकिने कुरा आएको छ, प्राविधिकहरुले यसबारे पनि जानकारी दिनुहुनेछ ।’

घर बनाउँदा के के कुरामा ध्यान दिनेलगायत सबै विषयमा जानकारी दिने भएकाले घर बनाउने योजना बनाए, तयारीमा रहेका वा बनाइरहेकाहरुलाई यो मेला निकै उपयोगी हुने उनको दावी छ । निर्माणसँग सम्बन्धित सबै प्राविधिक पक्ष र निर्माण सामग्रीको जानकारी दिइने भएकाले मेलामा सहभागी भएर लाभ लिनसम्बन्धित पक्षलाई संस्थापक अध्यक्ष भट्टले आग्रह गरे ।प्रदर्शनी मेलामा नयाँ प्रविधि, उपकरण तथा मेसिनरी सामानहरुको अवलोकन गर्ने तथा जानकारी लिन सकिने संघले जनाएको छ ।

निर्माण सामग्रीमा ५० प्रतिशतसम्म छुटको व्यवस्था

आयोजकका अनुसारप्रदर्शनी मेलामा निर्माण तथा हार्डवेयरसम्बन्धी सामग्री खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । स्वदेशी तथा विदेशी ब्राण्डका निर्माण सामग्रीबारे प्रत्यक्ष जानकारी हासिल गरेर सामान खरिद गर्न सकिने संघले जनाएको छ । गुणस्तर, मूल्य आदि बुझेर उपभोक्ताले आफूलाई उपयुक्त सामानको निर्णय लिनसक्ने अध्यक्ष शाहीले बताए । 

उपभोक्ताले घर निर्माणका लागि चाहिने सबै प्रकारका सामग्री एकै छानामुनि अवलोकन गरेर त्यसको मूल्य र गुणस्तर बुझ्ने मौका पाउनु हुनेछ’उनले भने, ‘ग्राहकले सामानको गुणस्तर र मूल्यको तुलना गरेर आफूले बनाउन लागेको संरचनाका लागि आफूलाई उपयुक्त सामग्रीको निर्णय लिन सक्नुहुनेछ ।’यो मेला निर्माण कम्पनीहरुका लागि पनि आफूले उत्पादन गरेका सामानबारे उपभोक्तालाई प्रत्यक्ष बुझाउने अवसर भएको संघको भनाइ छ ।

करिब सात हजार जनाले एक्स्पोको अवलोकन गर्ने आयोजकको अनुमान छ । ‘गुणस्तरीय निर्माण सामग्रीलाई सुपथ मूल्यमा ग्राहकसम्म कसरी पु¥याउन सक्छौँ भन्ने उद्देश्य हो’ संघका संस्थापक अध्यक्ष भट्टले भने, ‘व्यवसायलाई कसरी माथि उकास्ने भन्ने पनि मेलाको उद्देश्य हो ।’ मेलाले निर्माण सामग्री उत्पादक कम्पनीलाई प्रत्यक्षरुपमा ग्राहकसँग जोड्ने उनले बताए ।

सुदूरपश्चिमको पूर्वाधार विकासबारे छलफल गरिने

पाँच दिनसम्म सञ्चालन हुने एक्स्पोमा निर्माण सामग्रीको प्रदर्शनसँगै सुदूरपश्चिममा पूर्वाधार विकास, संभावना र सुदूरपश्चिमको समग्र विकासबारे प्रदेश सरकारका अधिकारी, विज्ञ, प्राध्यापक, व्यवसायीलगायत सरोकारवाला सम्मिलित सेमीनार गर्ने तयारी पनि संघको छ ।

विकासका दृष्टिले पिछडिएको सुदूरपश्चिममा पूर्वाधार विकासलाई कसरी तीव्रता दिन सकिन्छ भनेर प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, विज्ञ, क्याम्पसका प्राध्यापक, व्यवसायीलगायतको सहभागितामा वृहद अन्तक्र्रिया गरिने संघका अध्यक्ष शाहीले जानकारी दिए ।यसबाट निस्कने निष्कर्षले प्रदेशको विकासमा केही न केही टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए ।

‘सरकारले लगानीकर्ता, उद्योग, व्यवसायलाई कसरी प्रोत्साहन गर्नसक्छ, कसरी सुरक्षा दिनसक्छ, रोजगारीका अवसर सिर्जना गर्न के गर्न सकिन्छ भन्ने विषयमा सरोकारवाला पक्षबीच छलफल गर्छौँ’ उनले भने, ‘यस्तो बहस, छलफलले यहाँको विकासमा पक्कै पनि केही योगदान पुग्ला ।’

संघका पूर्वअध्यक्ष सुरेन्द्र राठीले सुदूरपश्चिममा निर्माण सामग्री उत्पादक उद्योगको प्रशस्त संभावना रहेको बताए । यसै क्षेत्रमा उद्योग भए उपभोक्ताले सस्तोमा सामान पाउनुका साथै यहाँको आर्थिक विकासमा पनि टेवा पुग्ने उनले बताए ।उद्योगको विकासका लागि तीनै तहका सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने पूर्वअध्यक्ष राठीको भनाइ छ ।

एक्स्पोले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा

एक्स्पोलेनिर्माण सामग्रीको व्यापारव्यवसाय वृद्धिमा मात्र नभइ यस क्षेत्रको आर्थिक विकासमा पनि टेवा पुग्ने संघको दावी छ ।प्रदर्शनी, मेला, महोत्सव आदिले व्यवसायीक कारोबार बढ्ने र त्यसले आर्थिक विकासमा पनि केही टेवा पुग्ने व्यवसायीहरु बताउँछन् । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले हार्डवेयर एक्स्पोले सुदूरपश्चिममा शिथिल भएको व्यवसायलाई चलायमान बनाउने विश्वास व्यक्त गरे ।

प्रदर्शनीमा भाग लिन विभिन्न कम्पनीहरु आउने भएकाले उनीहरुले यहाँको वातावरण बुझेर यहीँ लगानी पनि गर्नसक्ने अध्यक्ष कुँवरले बताए । ‘व्यवसाय चलायमान हुँदा आर्थिक कारोबार बढ्छ, यसले करका रुपमा राज्यको आम्दानी पनि बढ्छ’ अध्यक्ष कुँवरले भने, ‘एक्स्पोमा भाग लिन विभिन्न कम्पनीहरु यहाँ आउँछन्, यहाँको बस्तुस्थितिबुझ्ने मौका पाउँछन्, बुस्तुस्थिति बुझेर उपयुक्त लागे उनीहरु यहाँ लगानी पनि गर्नसक्छन् ।’

हार्डवेयर व्यवसायी संघका अध्यक्ष शाहीले एक्स्पोमा सहभागी हुने राष्ट्रियरअन्तर्राष्ट्रिय ब्राण्डका कम्पनीहरुलाई यहाँको बजार बुझ्ने अवसर पनि हुने बताए । हार्डवेयर एक्स्पो सुरु गरिएपछि सुदूरपश्चिममा ठूला कम्पनीहरुसेवा विस्तार र प्रभावकारी बनाउन केन्द्रीत हुन थालेका उनले बताए ।‘एक्स्पोले आर्थिक कारोबार बढ्छ, यसले यहाँको अर्थतन्त्र चलायमान बन्छ । एक्स्पोमा छोटो अवधिका लागि केहीले रोजगार पनि पाउँछन्’ शाहीले भने, ‘यी गतिविधिले कहीँ न कहीँ सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्छ ।’   

clock बुधबार १०, असोज २०८० ०९:२०

प्रतिक्रिया