चाडपर्व नजिकिदै गर्दा कैलालीमा जुवा खेल्ने र खेलाउने सक्रिय, १३ जना विरुद्ध मुद्दा दायर

  मङ्गलबार ०९, असोज २०८० १५:३६

धनगढी। जुवातास खेल्ने र खेलाउने कार्यलाई कानुनले अपराधमा राखेको भएपनी कैलालीमा भने यो कार्य सहजै भैरहेको पाइएको छ। २०८० वैशाख १७ गते कैलालीको धनगढी वडा नम्बर २ बैयाबेहडीका ३२ वर्षीय भुपेन्द्र चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरीसहित १२ जना पक्राउ परे। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४७ हजार २ सय रूपैयाँ र ५ थान ताससहित पक्राउ गरेको थियो। यस्तै साउन १६ गते धनगढी ४ बसपार्कको कलेल होटलबाट १० जना जुवाडे पक्राउ परे।

प्रहरी टोलीले कलेल होटलका सञ्चालक तेजबहादुर कलेलसहित उनीहरुबाट १ लाख ४ हजार ८१० रुपैयाँ नगद र २ गड्डी ताससहित पक्राउ गरेको थियो। यस्तै यही असोज ४ गते कैलालीकोे गोदावरी नगरपालिका ४ बाँस्कोटाका लोकबहादुर खड्काको पसलबाट पाँच जना जुवाडे पक्राउ परे। प्रहरीका अनुसार ५५ वर्षीय मनिराज महतासहित पाँच जना पक्राउ परेका हुन। उनीहरूको साथबाट तीन बुक ताससहित २० हजार पाँच सय ७० रुपैयाँ बरामद गरिएको थियो।

यस्तै असोज ५ गते धनगढी २ ट्राफिक चौराहका आनन्द केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ ग¥यो। धनगढी वडा नम्बर ४ का ५० वर्षीय दिपेन्द्र भण्डारीसहित उनीहरुलाई नगद १ लाख ६४ हजार ३८० रुपैँया,९ थान मोबाइल, ३ गड्डी ताससहित पक्राउ गरेको हो। यी त प्रतिनिधी उदाहरण मात्रै हुन्। जुवा खेल्ने र खेलाउने कार्य प्रहरीको नजरमा परेका र गोप्य सुचनाका आधारमा पक्राउ गरिएका मात्रै घटनाहरु सार्वजनिक हुने गरेका छन्।

तर भित्र भित्रै जुवा खेल्ने र खेलाउने कार्य मौलाउँदो छ। झन् नजिकैदै गरेको चाडपर्वको मौका छौप्दै कैलालीमा धेरै बिभिन्न स्थानमा होटल, घर तथा विभिन्न संघसंस्थाका कार्यालमै जुवातास खेलाउने र खेल्ने समुह सक्रिय बन्न थालेका छन्। चाडपर्व नजिकिदै गर्दा जुवा खेल्ने र खेलाउने स्थानहरुको विषयमा प्रहरीले निगरानी बढाउन थालेको जनाएको छ। कैलाली प्रहरीमा मात्र गत वर्ष जुवा खेल्न वा सट्टाबाजी गर्न नहुँने अपराधमा १३ वटा मुद्दा दर्ता भएका थिए।

तर ती सबै मुद्दाको फस्र्यौट भइसकेको प्रहरीको तथ्यांकले देखाएको छ। यस वर्ष पनि विभिन्न स्थानबाट प्रहरीले जुवातास खेल्ने र खेलाउने कार्यमा संलग्नहरुलाई पक्राउ गर्न थालेको छ। यस्तो कार्यमा संलग्न विरुद्ध मुद्दा नै चलाएर नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।नेपालको कानुनले जुवातास खेल्ने र खेलाउने कार्यलाई अपराधमा राखेको छ। नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो।

जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो। तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ। उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ। जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत भएको छैन्।

clock मङ्गलबार ०९, असोज २०८० १५:३६

प्रतिक्रिया