गोदावरी नगरपालिकाले अवैध नदीजन्यपदार्थ ढुवानी गर्नेलाई ५० हजार जरिवाना

  शुक्रबार ०५, असोज २०८० १०:१६

धनगढी । कैलालीको गोदावरी नगरपालिकाले अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गर्नेलाई चर्को जरिवाना शुल्क उठाउन थालेको छ। नगरपालिकाले बुधबार कैलालीको गोदावरी-१२ मा अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेको ट्याक्टरलाई ५० हजार जरिवाना तिराएको हो।

नगरपालिकाले नदीजन्य पदार्थको अवैध ढुवानी रोक्न भन्दै ३ हजार रुपैयाँको बालुवा अवैध रुपमा ढुवानी गरेबाफत ५० हजार जरिवाना तिराएएको छ । विगतमा अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गरेमा १ हजार देखि २ हजार मात्रै जरिवाना तिराइँदै आएको थियो । गोदावरी नगरपालिकाले असार १ गते देखि भाद्र मसान्त सम्मको लागि नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न रोक लगाएको थियो।

सुपप्र ०१००२ त ६७३९ नम्बरको ट्याक्टरबाट ५० हजार जरिबाना लिइएको हो।भाद्र मसान्तमा नगरपालिकाले नदीजन्य पदार्थ संकलनका लागि ठेक्कामा लगाउने प्रक्रिया नसकिएपनि हाल पनि रोक यथावत रहेको जनाएको छ। तर, रोक लगाइएको अवधिमै नदीजन्य पदार्थको उत्खनन् र ढुवानी नरोकिएपछि नगरपालिकाले चर्को जरिवाना असुलेको हो ।

नगरपालिकाले चालु आर्थीक बर्षमा मात्रै अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गर्ने ३ ट्याक्टरलाई ५० हजारका दरले डेढ लाख जरिवाना तिराइसकेको नगरपालिकाका जिन्सी शाखा प्रमुख गणेश पनेरुले बताए । उनले कार्यपालिकाबाट गरिएको निर्णय अनुसार नै जरिवाना तिराइएको बताए । गोदावरी नगरपालिकाको ९५ औं कार्यपालिका बैठकले नियम मिचेर नदीजन्य पदार्थ उत्खनन् वा ढुवानी गरेमा ५० हजार देखि १ लाख सम्म जरिवाना गर्ने निर्णय गरेको थियो ।

जसअनुसार ट्याक्टरलाई ५० हजार, टिप्परलाई ७० हजार र जेस्काइभेटररभ्याकुलोडररविसिलाई १ लाख जरिवाना तोकिएको थियो । निर्णयमा नियम मिचेर नदीजन्य पदार्थ उत्खनन् गरेको वा ढुवानी गरेको सूचना दिनेलाई २० प्रतिशत प्रोत्साहन रकम दिने उल्लेख छ। नगरपालिकाले नदीजन्य पदार्थ संकलनमा रोक लगाएको समयमा स्टक प्रमाणित गरेर भने ढुवानी गर्न सक्ने जनाएको थियो । तर, स्टक प्रमाणित नगरी ढुवानी गरेको पाइएका ट्याक्टरलाई जरिवाना गरिइएको नगरपालिकाले जनाइएको छ।

नगरपालिकाले असार ३ गते जारी गरेको सूचनामा सडकका दाँया बाँया, खोला किनार, सामुदायिक वन जस्ता ठाउँहरु बाहेक आफ्नो वा भाडामा लिएको जग्गामा राखेका नदीजन्य पदार्थको स्टक प्रमाणित गराउन ७ दिने सूचना जारी गरेको थियो । सो सूचना अनुसार चालु आर्थीक बर्षमा ४० जनाले मात्रै स्टक प्रमाणित गराएका छन् ।हाल नगरपालिकाले गोदावरीका ३ वटा नदीबाट नदीजन्य पदार्थ संकलन गर्नको लागि विद्युतीय बोलपत्र आह्वान गरेको छ । उक्त बोलपत्रमा सहभागि हुनका लागि असोज ५ गते सम्मको समय तोकिएको छ ।

गत आर्थीक बर्षमा नगरपालिकाले ८ पटक सम्म बोलपत्र आह्वान गर्दा पनि ठेकेदार नपाएपछि आफैले कर्मचारी परिचालन गरेर नदीजन्य पदार्थको विक्री शुल्क संकलन गरेको थियो । विगतमा गोदावरीका तिन वटा नदीको एउटै बोलपत्र आह्वान गरिदै आएकोमा यस पटक भने खुटिया नदीको छुटै र खैराना नदी र गोदावरी नदीको छुटै बोलपत्र आह्वान गरिएको छ । जस अनुसार खुटिया नदीको न्यूनतम बोलपत्र रकम ८ करोड ७६ लाख ७ हजार ७२८ र खैराना र गोदावरी नदीको न्यूनतम बोलपत्र रकम ४ करोड ९७ लाख ६ हजार १५६ तोकिएको छ।

नगरपालिकाले नदीजन्य पदार्थ संकलनका लागि हरेक आर्थीक बर्षमा बोलपत्र आह्वान गरेर ठेकेदार मार्फत नदीजन्य पदार्थको विक्रि शुल्क उठाउने गरेको छ ।गत बर्षको तुलनामा दोब्बर बढी न्यूनतम बोलपत्र रकम तोकिएको भएपनि यसबर्ष नदीमा नदीजन्य पदार्थ बढी भएको र समयमै बोलपत्र आह्वान गरिएकाले ठेकेदार पाउने विश्वास नगरपालिकाले लिएको बताएको छ ।गोदावरीका नदीका ढुङ्गा, बालुवा र गिट्‍टी उत्खनन र ढुवानीको ठेक्का सम्झौता नभएकाले उक्त काममा रोक लगाइएको छ।

clock शुक्रबार ०५, असोज २०८० १०:१६

प्रतिक्रिया