बजेट अभावका कारण विद्याभूषण पदक रोकियो

  सोमबार ०१, असोज २०८० ०६:३३

काठमाडौँ । समयमा रकम उपलब्ध हुन नसक्दा नेपाल विद्याभूषण पदक यस पटकको राष्ट्रिय शिक्षा दिवसमा वितरण नहुने भएको छ। शिक्षा दिवसको नयाँ मिति छनोट गरेपछि मात्र विद्याभूषण वितरण गर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालबाट विद्याभूषण वितरण कार्य रोकेको थियो। 

समयमा र पर्याप्त बजेट उपलब्ध हुन नसक्दा वितरण सम्भव नभएको मन्त्रालयको भनाइ छ। शिक्षा सचिव सुरेश अधिकारीले बजेट घोषणा गत साउनमा भएको र बजेट उपलब्ध भदौमा भएको भन्दै थप्नुभयो, “भर्खरै बजेट उपलब्ध भएको छ। तयार गर्ने संस्थासँग सम्पर्क गर्दा कम्तीमा तीन महिनामा विद्याभूषणका पदक तयार गर्न सकिने जानकारी दिए। विद्याभूषण तयार हुन नसक्दा वितरण सम्भव नभएको हो।” विगतदेखि नै ललितपुरको घरेलु तथा साना उद्योग कार्यालयले विद्याभूषण पदक तयार गर्ने गरेको थियो।

यस पटक पदक वितरण गर्न आवेदन आह्वान गरिएको थियो। जम्मा एक हजार ७९ जनाले आवेदन दिएकामा छानबिनपछि ९६२ जनालाई प्रदान गर्न सिफारिस भएको थियो। पदक तयार हुन नसक्दा यस पटक राष्ट्रपतिको कार्यालय शीतल निवासमा औपचारिक कार्यक्रमको आयोजना नहुने भएको छ।

“पछि कुनै उपयुक्त दिन तय गरेर विद्याभूषण प्रदान गर्ने छौँ,” शिक्षा सचिव अधिकारीले भन्नुभयो। उहाँका अनुसार विद्याभूषण पदकका लागि चार करोड रुपियाँ प्राप्त भएको छ। त्यसमध्ये करिब ६० लाख रुपियाँ शिक्षा दिवसको औपचारिक कार्यक्रम र शिक्षण संस्थालाई पुरस्कृत गर्दा खर्च हुने भन्दै उहाँले विद्याभूषण तयार गर्न अझै एक करोड रुपियाँ अपुग हुने बताउनुभयो।

शिक्षा दिवसमा देशका सर्वोत्कृष्ट विद्यालय तथा क्याम्पसलाई पुरस्कृत गरिने भएको छ। सामुदायिक र निजी विद्यालयतर्फ सर्वोत्कृष्ट तीन÷तीन वटा विद्यालयलाई पुरस्कृत गरिने छ। पहिलो हुनेलाई तीन लाख रुपियाँ, दोस्रो हुनेलाई दुई लाख रुपियाँ र तेस्रो हुनेलाई एक लाख रुपियाँ तथा तीन वटैलाई सिल्ड, ध्वजा र प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तै प्राविधिक शिक्षातर्फका चार वटा शिक्षण संस्था र सर्वोत्कृष्ट तीन वटा क्याम्पसलाई पुरस्कृत गरिने छ। 

नेपालमा २०३१ सालदेखि राष्ट्रिय शिक्षा दिवस मनाउन थालिएको हो। हरेक फागुन १२ गते मनाउने गरिएकोमा दोस्रो जनआन्दोलनपछि भने भदौ २३ गते मनाउन थालियो। तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवस परेकाले सोही दिन राष्ट्रिय शिक्षा दिवस मनाउनु उपयुक्त नहुने भन्दै नयाँ मिति चयनपछि शिक्षा दिवस मनाउने र सोही बेला विद्याभूषण वितरण गर्ने निर्णय गर्नुभएको थियो। अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ प्रमाणीकरण भएको दिन अर्थात् असोज २ गते शिक्षा दिवस मनाउने भनी गत जेठमा मन्त्रीपरिषद्ले निर्णय गरेको थियो।  

clock सोमबार ०१, असोज २०८० ०६:३३

प्रतिक्रिया