नेटवर्किङको काम भन्दै ठगी गर्ने डडेल्धुराकी प्रिती र बैतडीका रबिन पक्राउ

  शनिबार ०२, भदौ २०८० ०९:१०

अछाम । नेटवर्किङको काम भन्दै ठगी गरेको आरोपमा अछाममा २ जना पक्राउ परेका छन्। बैतडीको पाटन नगरपालिका–१० का २३ वर्षीय राहुल भनिने रबिन चन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनलाई मंगलसेनबाट पक्राउ गरिएको हो। राहुलले आरएनसी ट्रेडिङ प्रालिका नाममा नेटवर्किङ व्यवयाय सञ्चालन गरी ठगी गरेको प्रहरीको आरोप छ।

अछामका ३७ जनालाई नेटवर्किङ मार्केटिङमा जोडेर उठाइएको पैसा ठगी गरेको भन्दै तीमध्येका १० जनाले जिल्ला प्रहरी कार्यालय अछाममा दिएको जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यसअघि नेटवर्किङ मार्केटिङ कार्यमा संलग्न डडेल्धुराको आलिताल गाउँपालिका–६ का २१ वर्षीय प्रिती ऐरीलाई प्रहरीले पक्राउ गरेको थियो।

ठगीमा संलग्न रहेको आरोप लागेका बैतडीको सुर्नया गाउँपालिका–२ का २३ वर्षीय भीमसिंह ऐरी र बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ का २० वर्षीय गणेश खड्का फरार रहेका छन्।

आरोपितहरुले ३७ जनाबाट प्रतिव्यक्ति १६ हजार देखि २४ हजारका दरले ५ लाख २६ हजार १ सय रकम संकलन गरेको बताइएको छ।

clock शनिबार ०२, भदौ २०८० ०९:१०

प्रतिक्रिया