कैलालीको गोदावरी नगरपालिकाको काम नयाँ भवनबाट सुरु

  बुधबार १७, साउन २०८० १५:४२

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । नगरपालिकाले वडा नम्बर २ मा निर्माण गरिएको भवनबाट सेवा दिन सुरु गरेको हो । नयाँ भवनमा सेवा सुरु गर्नका लागि अधिकांस शाखाका सामानहरु नयाँ भवनमा सार्ने काम सकिएको नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले बताएका छन् ।

उनले लेखा र जिन्सी शाखाका केही सामान नयाँ भवनमा ल्याउन बाँकी भएपनि अन्य शाखाका सामान नयाँ भवनमा ल्याइसकिएको बताए । नयाँ भवनमा विद्युत लाईनमा केही समस्या देखिएकाले काम गर्न केही समस्या भएपनि मर्मतको काम जारी रहेको उनले बताए ।

नगरपालिकाले साउन भित्रै नयाँ भवनबाट सेवा सूचारु गर्ने भनेर यसअघि नै असार २८ गते पुजाआजा गरेको थियो । एशियाली विकास बैंक (एडीवी) को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी मार्फत भवनको निर्माण गरिएको हो ।

भवन निर्माणका लागि एम÷एस शर्मा एण्ड कम्पनी संग २०७६ साल मंसिर २० गते ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अनुसार २०७८ साउन २० गते भवन निर्माणको काम सक्नुपर्ने भएपनि भवन निकै ढिला गरि निर्माण सकिएको छ । भवन निर्माणका लागि १० करोड ५५ लाख ५६ हजार ८१५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

भवन निर्माणको काम सकिएको भएपनि क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीले नगरपालिकालाई हस्तान्तरण गर्न भने बाँकी रहेको छ । यसअघि आफ्नै भनव नहुँदा नगरपालिकाले अत्तरियाको धनगढी रोडमा रहेको भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको थियो ।

clock बुधबार १७, साउन २०८० १५:४२

प्रतिक्रिया