धनगढीमा चर्को गर्मीमा पनि विद्युत् अनियमित हुँदा सास्ती

  बुधबार १३, असार २०८० ०९:२०     विश्वास खबर

धनगढी । गर्मीको समयमा विद्युत् अनियमित हुँदा सर्वसाधारण मारमा परेका छन् । बारम्बार विद्युत् अनियमित हुने, पावर नपुग्नेजस्तो देखिने तथा  दैनिक १०–१२ पटकसम्म विद्युत् जाने गरेको धनगढी उपमहानगरपालिका–१ का गगन भण्डारीले बताए ।

‘बारम्बार विद्युत् जान्छ, कतिवेला पावर नपुगेर पंंखा चल्दैन,’ भण्डारीले भने, ‘गर्मीमा बस्नै समस्या छ ।’ उद्योग, कलकारखानामा पनि यसको प्रभाव परेको छ । पावर नपुग्ने र वेलावेला बत्ती जाने समस्याले उत्पादन प्रभावित भएको उद्योगीहरूको गुनासो छ । 

पटक–पटक विद्युत् अवरुद्ध हुँदा विद्यार्थी मारमा परेका नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष मनीष कुँवरले बताए । विद्युत् नियमित गर्न माग गर्दै नेपाल विद्यार्थी संघ कैलालीले गत ४ असारमा नेपाल विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्रलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।  

नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रका निमित्त प्रमुख मोहन जोशीले लोडसेडिङ नभएको, तर अन्य प्राविधिक कारणले विद्युत् अनियमित हुने गरेको बताए । गर्मीको सिजनमा विद्युत् बढी खपत हुने भएकाले ‘ओभरलोड’ हुँदा सिस्टम जाने, वर्षा र हावाहुरीले पोल ढल्ने, तारहरू जुध्ने, तारमा रूख र हाँगाहरू खस्नेजस्ता कारणले विद्युत् आपूर्तिमा समय–समयमा समस्या देखिने गरेको उनले बताए ।

clock बुधबार १३, असार २०८० ०९:२०     विश्वास खबर

प्रतिक्रिया