डडेल्धुरामा तरकारी सङ्कलन केन्द्र पाँच वर्षदेखि प्रयोग विहीन
डडेलधुरा । डडेधुराको अमरगढी नगरपालिका–१ दहमा बनाइएको ‘तरकारी सङ्कलन केन्द्र’ पाँच वर्षदेखि प्रयोगविहीन बनेको छ।प्रयोगमा नआएपछि केन्द्र जीर्ण बन्दै गएको छ भने अहिले झाडी र बुट्यानले घेरेको छ।
२०७५ सालमा वडा कार्यालयको तीन लाख बजेटमा निर्माण भएको केन्द्र किसानले उत्पादन गरेका तरकारी तथा अन्य कृषिजन्य उपज सङ्कलन गरी बिक्री गर्न बनाइएको थियो। सुरुमा केही किसानले मात्रै प्रयोगमा ल्याए पनि २०७७ सालको बर्खामा आएको पहिरोले क्षति गरेपछि भवन प्रयोगमै आउन सकेको छैन।
‘कृषिजन्य उपज सङ्कलनका लागि भवन निर्माण गरिएको हो, तर पहिरोले क्षति गरेपछि पुनर्निर्माण हुन सकेन,’ अमरगढी–१ का वडाध्यक्ष लोकबहादुर ऐरले भने। उनले उक्त तरकारी संकलन केन्द्र पुनः सञ्चालनका लागि किसानले चासो नदेखाएको बताए। ‘केही किसानले यसबाट लाभ लिइरहेका थिए। पहिरोले क्षति भएपछि पुनःनिर्माण गरिएन । फेरि यसको आवश्यकता महसुस भएको छ। अब बजेट छुट्याएर यसलाई प्रयोगमा ल्याउने योजना छ,’ उनले भने।
यहाँका दह, तडिवटा, भेटा, घोलुना लगायत छिमेकी गाउँमा एक सयभन्दा बढी व्यावसायिक किसान छन्। यहाँ आलु, काउली, बन्दागोभी, मुला, रायो, टमाटरलगायत तरकारी प्रशस्त मात्रामा उत्पादन हुने भएकाले संकलन केन्द्र सञ्चालनमा आए किसानलाई ठूलो फाइदा हुने दहका स्थानीय गणेशबहादुर ऐर बताउँछन्। उनका अनुसार केन्द्रमा तरकारी संकलन गरेर बिक्री गर्दा किसान बिचौलियाको मारमा पर्दैनन्। ‘हामीले खेतबारीबाट तरकारी केन्द्रमा राख्ने र सिधै व्यापारीलाई बेच्दा राम्रो मूल्य पाइन्छ,’ उनले भने, ‘यो प्रयोगमा आए हामीलाई फाइदा हुन्छ।’
अहिले केन्द्र प्रयोगमा नआउँदा किसानले स्थानीय व्यापारीमार्फत तरकारी बिक्री गर्ने गरेका छन्। जसका कारण अपेक्षित मुनाफा लिन किसानलाई समस्या परेको छ। भेटाका किसान रुद्रबहादुर ऐरका अनुसार पहिरोले भवनमा क्षति गरेपछि मर्मतमा पहल हुन सकेको छैन। खडेली बाबा बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष समेत रहेका उनले भने, ‘कृषकको उत्पादन ल्याएर यहीँ सङ्कलन गर्ने र व्यापारीलाई बिक्री गर्ने उद्देश्यले केन्द्र बनाइएको हो।
बजेट अभावमा अहिले मर्मत सम्भव भएको छैन।’ उनका अनुसार केही किसानले मात्रै यो सङ्कलन केन्द्र प्रयोग गरेका थिए । अन्यले तरकारी स्थानीय बजारमै खपत गर्ने गरेका छन्। तर, यहाँबाट तराईका जिल्लामा तरकारी बिक्री गर्ने किसानका लागि यो केन्द्र आवश्यक देखिन्छ। ‘स्थानीय सरकारले बजेट हालेर पुनर्निर्माण र सञ्चालनमा ल्याउने योजना बनाउनु आवश्यक छ,’ उनले थपे।
स्थानीय कृषकको उत्पादन वृद्धि र बजारसम्म सहज पहुँचका लागि सङ्कलन केन्द्रको पुनर्निर्माण र नियमित सञ्चालन हुनु आवश्यक रहेको किसानहरु बताउँछन्। स्थानीय सरकारले थोरै बजेटमा सञ्चालन गरेका यस्ता निर्माणकार्य बेवारिस बन्दा पुनर्निर्माणमा ध्यान दिएको देखिँदैन। यसले कृषक उत्पादनको उचित मूल्य र बजार पहुँचमा पनि असर पार्ने भएकाले मर्मतमा तत्काल पहल गर्नु आवश्यक रहेको किसानहरूको भनाइ छ।
प्रतिक्रिया