डडेल्धुराको नवदुर्गामा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

  बिहिबार १२, भदौ २०८२ ०९:५९

धनगढी । डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर बिष्टले डडेल्धुुरा सदरमुकामतर्फ आइरहेको जीप दुर्घटनामा परेको बताए । उनकाअनुसार घटनास्थलमा भर्खरै प्रहरी टोली पुगेको छ ।

अहिलेसम्म चार जनाको शव फेला परेको बताउँदै प्रहरी निरीक्षक बिष्टले जीप सडकबाट करीब पाँच सय मिटर तल जंगलमा खसेकाले स्थिती यकिन नभएको बताए । दुर्घटनामा कम्तीमा पनि ७ जना घाइते अवस्थामा रहेको भनिएपनि अझै यकिन हुुन नसकेको उनले बताए ।

दुर्घटनामा परेर घाइते भएकाहरुको उद्दार कार्य चलिरहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइने प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन । दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

clock बिहिबार १२, भदौ २०८२ ०९:५९

प्रतिक्रिया