आज हरितालिका तीज पर्व मनाइँदै
काठमाडौं । हिन्दू नेपाली महिलाहरूले आज (मंगलबार) महत्वपूर्ण चाड तीज मनाउँदै छन् । यो पर्वमा भदौ महिनाको शुक्ल पक्षको प्रतिपदाका दिन आफ्ना चेलीबेटीहरूलाई बोलाई द्वितीयाको दिन आफ्नो सामथ्र्यअनुसार मीठा मीठा खाद्यवस्तुहरू तयार गरिन्छ र प्रेमपूर्वक उनीहरूलाई खुवाइन्छ । भाद्र महिनाको शुक्लपक्षको तृतीयाको दिन तीज हो ।
प्रतिपदाबाट पञ्चमीसम्मका दिनलाई समन्वित रूपमा तीज भने पनि खास तीज चाँहि यसै दिनलाई मानिन्छ । यो दिन महिलाहरू निराहर व्रत बस्छन् । भगवान् शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।
यस वर्ष तीज सोमबारदेखि सुरु भएको छ । पहिलो दिन सोमबार व्रतालु महिलाले दर खाएका छन् भने दोस्रो दिन आज तीजको मुख्य दिन हो । यसदिन व्रतालुले निराहार व्रत बसेर भगवान् शिवको पूजा-आराधना गर्छन् । बुधबार गणेश चौथी पर्व मनाइन्छ । अन्तिम दिन बिहीबार अरुन्धतीसहित सप्तऋषिको पूजा-आराधना गरेपछि चारदिने तीज पर्व समापन हुन्छ ।
साउने संक्रान्तिदेखि तीजको रौनक सुरु हुने गर्दछ । तीजमा खासगरी भगवान् शिवको आराधना गरिन्छ । यसको अर्को पक्ष नाचगान र मनोरञ्जन हो । नेपालका प्रायः सबै समुदायका महिलाहरूले मनाउने साझा पर्वका रूपमा विकास भइरहेको छ तीज पर्व ।
प्रचलित जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई आफ्नो पति पाऊँ भनी पहिलोपटक व्रत बस्नुभएको थियो । सोही मान्यताअनुसार पति नभएकाले राम्रो पति र विवाहितले पतिको दीर्घायुको कामना गर्दै व्रत बस्ने प्रचलन रही आएको छ । यस दिन बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर व्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको पूजा(आराधना गर्ने प्रचलन छ ।
प्रतिक्रिया