कैलालीमा हाजिर भए डिएफओ ठाकुर

  सोमबार ०९, भदौ २०८२ ०८:४४

धनगढी । कञ्चनपुरबाट सरुवा भई कैलाली खटाइएका वरिष्ठ डिभिजन वन अधिकृत राम बिचारी ठाकुरले पदभार ग्रहण गरेका छन् । उनले भदौ ४ गते कञ्चनपुरबाट रमाना लिई भदौ ६ गतेदेखि कैलालीको जिम्मेवारी सम्हालेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सुदूरपश्चिम प्रदेश सरकारको श्रावण ३० गतेको निर्णयअनुसार ठाकुरलाई कञ्चनपुरबाट कैलाली कामकाजको लागि खटाइएको हो । ठाकुरको स्थानमा वरिष्ठ वन अधिकृत रामचन्द्र कँडेललाई पठाइएको छ भने पहलमानपुरमा कृष्णदत्त भट्टलाई पनि सरुवा गरिएको छ ।

यसबिच, सरकारको सरुवा निर्णयविरुद्ध दुई जना डिभिजन वन अधिकृतले उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए । अदालतले भदौ ५ गते सरकारको नाममा अल्पकालीन आदेश जारी गरेको थियो, जसलाई प्रदेश वन मन्त्रालयले भदौ ६ गते सम्बन्धित वन कार्यालयमा कार्यान्वयन गर्न पत्राचार गरेको छ ।

यद्यपि ठाकुरले भने आफूले अदालतको आदेश आउनु भन्दा अघि नै रमाना लिई कार्यालयमा हाजिर भइसकेको बताए। उनले भने, ‘मैले प्रदेश सरकारको आदेश पालना गरेर भदौ ४ गते रमाना लिएको हुँ। नियमानुसार कार्यालयमा हाजिर भएपछि मात्र अदालतको आदेश आएको हो। अदालतको भावी फैसलाप्रति मेरो पूर्ण सम्मान रहनेछ ।’

ठाकुरले आफू प्रदेश सरकारको आदेशअनुसार जिम्मेवारी सम्हालेको र डिभिजन वन कार्यालय कैलालीको सम्पूर्ण काममा पूर्ण रूपमा जबाफदेही हुने स्पष्ट पारेका छन् ।

clock सोमबार ०९, भदौ २०८२ ०८:४४

प्रतिक्रिया