कञ्चनपुरका नौ वटै स्थानीय तहले ल्याए बजेट

  बुधबार ११, असार २०८२ ०६:५९

कञ्चनपुर । कञ्चनपुरका नौ वटै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । सबै स्थानीय तहले अघिल्ला वर्षका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

जिल्लाको सबैभन्दा पुरानो भीमदत्त नगरपालिकाले मङ्गलबार १७ औँ नगरसभाबाट १ अर्ब ९३ करोड रुपैयाँको बजेट पारित गरेको छ । छोरी–बुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिनेदेखि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

यस्तै, बेदकोट नगरपालिकाले मङ्गलबार ९८ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएको छ । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ । दोधारा–चाँदनी नगरपालिकाले आइतबार नै ७६ करोड रुपैयाँको बजेट पारित गरिसकेको छ । बाढीका कारण बर्सेनि डुबानमा पर्ने भएकाले विपद् व्यवस्थापन र पूर्वतयारीमा विशेष प्राथमिकता दिएको छ ।

यसैगरी, शुक्लाफाँटा नगरपालिकाले ९२ करोड रुपैयाँको बजेट पारित गरिसकेको छ । कृष्णपुर नगरपालिकाले १ अर्ब १ करोड, बेलौरी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बाहेक ७६ करोड र पुनर्वास नगरपालिकाले ७५ करोड ७७ लाख रुपैयाँको बजेट ल्याएका छन् ।

दुई गाउँपालिका बेलडाँडी र लालझाडीले पनि अघिल्ला वर्षका कार्यक्रमलाई निरन्तरता दिएका छन् । केही आकर्षक नारासहित नीति, कार्यक्रम र बजेट ल्याइएको छ । बेलडाँडीले ५४ करोड ५० लाख र लालझाडीले ४३ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएका छन् ।

clock बुधबार ११, असार २०८२ ०६:५९

प्रतिक्रिया