धनगढी उपमहानगरको २ अर्ब ५६ करोड चार लाखको बजेट पारित
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ। धनगढी उपमहानगरपालिकाको नगर सभाबाट २ अर्ब ५६ करोड चार लाख ६६ हजारको बजेट पारित भएको हो।
धनगढी उपमहानगरले चालु आर्थिक वर्षको बजेट भन्दा ३७ करोड ६२ लाख ३३ हजार सात सय ८० रुपैयाँ अर्थात् १७ दशमलव २२ प्रतिशतले बजेट वृद्धि गरेको छ।
धनगढी उपमहानगरपालिकाले एक अर्ब ३८ करोड २६ लाख ५१ हजार छ सय ४० रुपैयाँ चालुतर्फ र एक अर्ब १८ करोड २९ लाख ३५ हजार २ सय ९२ रुपैयाँ पुँजीगत तर्फको बजेट पारित गरेको छ। उपमहानगरपालिकाको कुल बजेटको ५३ दशमलव ८ प्रतिशत चालु तर्फ र ४६ दशमलव २ प्रतिशत पुँजीगत बजेट रहेको छ।।
धनगढी उपमहानगरपालिकाको आन्तरिक आय ५४ करोड ७९ लाख ६७ हजार एक सय ११ रुपैयाँ रहेको छ। राज्यश्व बाँडफाँडबाट ५७ करोड ६० लाख ६२ हजार एक सय ४३, नेपाल सरकारबाट वित्तिय हस्तान्तरण ९९ करोड नौ लाख, प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण ११ करोड २२लाख ४१ हजार र मौज्दात ३३ करोड ३२ लाख ९५ हजार सात सय ४६ रुपैयाँ रहेको छ।
धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २ सय २० रुपैयाँ बजेट कार्यान्वयन गर्दैछ। उपमहानगरको चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म एक अर्ब ८१ करोड पाँच लाख ८४ हजार सात सय २२ रुपैयाँ खर्च गरेको छ।
प्रतिक्रिया