पाकिस्तानमा इमरानसमर्थित निर्दलीय उम्मेदवार ७० सिटमा विजयी, मतगणना जारी

  शनिबार २७, माघ २०८० ०६:३१

काठमाण्डौँ । पाकिस्तानमा आम निर्वाचनअन्तर्गत मतगणना जारी छ । मतदान बिहीबार भएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, अहिलेसम्म पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) समर्थित उम्मेदवारहरूले २ सय ६६ सदस्य रहने राष्ट्रिय सभामध्ये ७० सिटमा जित हासिल गरेका छन् । 

उता, नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग–नवाजले ६१ सिटमा जित निकालेको छ । पाकिस्तान पिपुल्स पार्टीले करिब ४० सिट जितेको छ ।

आफ्नो सिट जित्नेमा इमरान खानसमर्थित उम्मेदवारमध्ये धेरै खैबर–पख्तूनख्वाहका हुन् । त्यहीँ सबैभन्दा धेरै जनसंख्या रहेको पञ्जाब सुबेबाट नतिजा आउने क्रम जारी छ ।

लाहौरको एनए– १३० सिटमा भारी अन्तरले चुनाव जितेका नवाज शरीफलवे शुक्रबार साँझ आफ्ना पार्टी कार्यकर्तालाई सम्बोधन गरे ।

समाचार संस्था रोयटर्सका अनुसार शरीफले आफ्नो पार्टीले सबैभन्दा बढी सिटमा जित्ने दाबी गरे । उनले पार्टीले पाएको कुल सिटको संख्याबारे बोलेनन् । तर, निर्वाचन आयोगका अनुसार, उनको पार्टीले अहिलेसम्म ६१ सिटमा जित निकालेको छ । बहुमतको आँकडा भेट्टाउन यो संख्या निकै कम हो । 

यद्यपि, शरीफले आफ्नै बलमा सरकार बनाउन पार्टीसँग आवश्यक बहुमत नपुग्ने भएकाले अन्य पार्टीसँग मिलेर सरकार बनाउने पनि बताए ।

पीटीआई प्रमुख इमरान खानले यो चुनावमा उम्मेदवारी दिन पाएनन् । उनको पार्टीलाई समेत जनसभाहरू गर्न अनुमति थिएन । यस्तोमा पीटीआईका कैयौँ उम्मेदवारले यस चुनावमा निर्दलीय बनेर भाग लिनुपरेको छ । 

पाकिस्तानमा निर्दलीय उम्मेदवारका रूपमा जित्नेहरूले निर्वाचित भएको ७२ घण्टाभित्र कुनै अर्को पार्टीलाई समर्थन गर्नुपर्ने छ । 

पाकिस्तानमा सक्रिय पोलिङ ग्रुप गोलअप पाकिस्तानका कार्यकारी निर्देशक बिलाल गिलानीले भने, ‘पीटीआईले सरकार बनाउन सकेन भने पनि यो चुनावले भन्छ( राजनीतिक इन्जिनियरिङको पनि एक सीमा हुन्छ । यसले के पनि देखाउँछ भने सेनाले सधैं आफूले चाहेको कुरा पाउँदैन । यो आशाको किरण हो ।’ 

clock शनिबार २७, माघ २०८० ०६:३१

प्रतिक्रिया