इजरायलमा हमला हुँदा सुदूरपश्चिमबाट गएका विद्यार्थी घाइते

  आइतबार २१, असोज २०८० ०९:११

धनगढी । इजरायलको मध्य र दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहले गरेको रकेट हमलामा नेपाली पनि घाइते भएका छन् । शनिबार साँझ इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासबाट परराष्ट्र मन्त्रालयलाई प्राप्त जानकारीअनुसार हमासको हमलामा नौ जना नेपाली घाइते भएका छन्, जसमध्ये दुई गम्भीर छन् । 

घाइते नेपाली सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि गएका विद्यार्थी हुन् । सुदूरपश्चिम विश्वविद्यालयका ४९ जनाको समूह २७ भदौमा नेपालबाट इजरायल गएको थियो । 

इजरायलको अर्को सहरमा रहेका त्यही समूहका एक विद्यार्थीले टेलिफोनमा भने, ‘किबुजको कृषि फार्ममा १७ जना साथी छन् । गाजापट्टीबाट शनिबार बिहानै आएर आतंककारीले हमला गरेका थिए । सबै साथीहरू बंकरमा बस्नुपर्नेमा दुईजना बाहिर रहेका वेला ग्रिनेडले लागेछ । उनीहरू घाइते भए । बाँकी सबै साथीलाई बंकरभित्रै ग्रिनेडको छर्रा लागेको छ ।’ उनले सबै घाइते भएको जानकारी दिए पनि परराष्ट्रले भने नौ जना मात्रै घाइते भएको विज्ञप्तिमा जनाएको छ ।

ती विद्यार्थीले शनिबार राति दिएको सूचनाअनुसार घाइतेमध्ये पाँच नेपाली विद्यार्थीलाई उपचारका लागि अस्पताल लगिएको छ । बाँकीको अवस्थाबारे उनले अनभिज्ञता जनाए । १४ नेपाली काम गरिरहेकोे एउटा कृषि फार्ममा शनिबार बिहान ग्रिनेड प्रहार भएको थियो ।

दाङ, सल्यान, गोरखा, कैलाली, कञ्चनपुर, दार्चुलाका विद्यार्थी घाइते भएका छन् । उनीहरू सबै नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार कृषि कार्यका लागि त्यहाँ गएका हुन् । १४ नेपालीमध्ये पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका रहेको जानकारी नेपाली राजदूतावासले परराष्ट्रलाई दिएको छ ।

clock आइतबार २१, असोज २०८० ०९:११

प्रतिक्रिया