सङ्घीयतापछि महिलालाई रोजगारी सहज

  सोमबार ०२, असार २०८२ ०९:४२
अपिनाम्पा अल्लो उद्योगमा अल्लोको कपडा तयार गरिँदै ।

दार्चुला । सङ्घीयतापछि दार्चुलाका १६३ जना महिला प्रत्यक्ष रूपमा रोजगारसँग जोडिएका छन् । अन्य पेसा, व्यवसाय र रोजगारीसँग जोडिने महिलाको सङ्ख्या धेरै हुन सक्ने भए पनि सङ्घीयता स्थापनापछि उत्पादनमूलक उद्योग स्थापना गरेर रोजगारीसँग प्रत्यक्ष रूपमा जोडिएको महिलाको सङ्ख्या १६३ छ भने पुरुषको सङ्ख्या १०९ छ ।

सङ्घीयता स्थापना भएको वर्ष २०७२ सालदेखि हालसम्म १६३ वटा उत्पादनमूलक उद्योग दर्ता भई सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाका सूचना अधिकारी गणेश गिरीले जानकारी दिनुभयो । महिलालाई उत्पादनमूलक उद्योगसँग जोडेर आत्मनिर्भर बनाउन सबै तहका सरकारले महिलाको क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने किसिमका काम गरिरहेका छन् ।

सङ्घीयता स्थापनापछि जिल्लामा मसला उद्योग,  बेकरी उद्योग, अल्लो प्रशोधन उद्योग, गलैँचा उद्योग, नमकिन बनाउने उद्योग, फर्निचर उद्योग जस्ता उत्पादनमूलक उद्योग स्थापना भएका छन् । जिल्ला सदरमुकाम खलङ्गामा रहेको अपिनाम्पा अल्लो उद्योगबाट उत्पादित अल्लोको कपडा नेपाललगायत अन्य मुलुकमा प्रख्यात छ । 

उद्योगमा स्थानीय १० जना महिलालाई रोजगारी  प्र्रदान गरेको उद्योगका सञ्चालक विमलादेवी जोशीले बताउनुभयो । “सङ्घीयता आएपछि महिलालाई हरेक कुरामा सहज भएको छ, सिप अनुसारको गाउँघरमै रोजगारी पाइन्छ,” उहाँले भन्नुभयो ।

मालिकार्जुन गाउँपालिका–७, खेतारका भागरथी चन्दले आर्थिक वर्ष २०७६/७७ मा घरेलुमा बाख्रापालन फार्म दर्ता गरेर बाख्रापालन सुरु गर्नुभएको थियो । सुरुमा पाँच वटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले पैँतिसरचालिस वटा बाख्रा भएका छन् । फार्म दर्ता गर्दा आफ्नै नाममा दर्ता गर्नुभएका उहाँलाई सेवा शुल्कमा समेत छुट गरिएको थियो । 

बाख्रापालन व्यवसायबाट घरखर्चलगायत दुई छोरी र एक छोरालाई तराईका विद्यालयमा शिक्षा दिलाइरहेको उहाँले बताउनुभयो । “बाख्रापालन व्यवसायबाट वार्षिक चाररपाँच लाख आम्दानी हुन्छ, बालबच्चाको खर्च र घरखर्च चलाउन सहज भएको छ,” उहाँले भन्नुभयो । 

दार्चुलामा आव २०७४/७५ मा २२ वटा उद्योग, २०७५/७६ मा ५५, २०७६/७७ मा सात वटा उद्योग, २०७७/७८ मा १३ वटा उद्योग, २०७८/७९ मा २५ वटा उद्योग, २०७९/८० मा २६ वटा उद्योग, २०८०/८१ मा नौ वटा उद्योग र चालु आव २०८१/८२ को हालसम्म सात वटा उद्योग गरेर १६४ उत्पादनमूलक उद्योग दर्ता भएको उहाँले जानकारी दिनुभयो ।  

clock सोमबार ०२, असार २०८२ ०९:४२

प्रतिक्रिया