मापदण्ड नबनाउँदा कञ्चनपुरका स्थानीय तहमा इन्धन खर्चमा मनपरी
कञ्चनपुर् । कञ्चनपुरका विभिन्न स्थानीय तहले इन्धन खर्चका लागि अझै मापदण्ड बनाउन सकेका छैनन् । बेलौरी नगरपालिकाले मात्रै कार्यसञ्चालन निर्देशिका, २०८० अनुरूप पालिकाका अधिकारीले प्रयोग गर्ने सवारीसाधनका लागि इन्धन खर्च मापदण्ड तयार गरेको छ तर अन्य आठ पालिकाले भने अझै इन्धन खर्च मापदण्ड नै नबनाएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
अन्य पालिकाले अर्थ मन्त्रालयबाट जारी कार्यसञ्चालन निर्देशिका, २०७७ बमोजिम सवारीसाधन प्रयोग गर्ने व्यक्तिलाई सोही अनुसार विभिन्न परिणाममा इन्धन उपलब्ध गराउने गरेका छन् । ती पालिकाले वार्षिक रूपमा इन्धनका नाममा करौडौँ रकम खर्च गर्दै आएका छन् तर स्पष्ट मापदण्ड तयार नगर्दा इन्धनमा बर्सेनि करौडौँ रकम अनियमित हुँदै गएको महालेखा परीक्षकको कार्यालयले बताएको हो ।
स्थानीय तहको दोस्रो पटक निर्वाचन भएको तीन वर्षमा समेत पालिकाले छुट्टै निर्देशिका बनाउन चासो नै नदिएको पाइएको हो । बेलौरी नगरपालिकाको निर्देशिकाले तोकेको मापदण्ड अनुसार पालिकामा रहेका सात सवारीसाधन र प्रतिकर्मचारीलाई मासिक एक हजार सात सयका दरले भुक्तानी गर्नुपर्ने रकमसहित वार्षिक ३६ लाख ३४ हजार ३९३ रुपियाँ इन्धनमा खर्च हुने उल्लेख छ तर सो पालिकाले भने आर्थिक वर्ष २०८०र८१ मा ५१ लाख ७८ हजार २४३ रुपियाँ इन्धनमा खर्च गरेको छ ।
सो पालिकाले ‘इन्धन शीर्षक’ मा मात्रै १५ लाख ४३ हजार ८५० रुपियाँ अनियमितता गरेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यस्तै बेलौरी नगरपालिकाले गत आवमा सवारीसाधन मर्मत अभिलेख खाता तयार नगरेर २८ लाख ५६ हजार ३१७ रुपियाँ सवारीसाधन मर्मतसम्भारमा खर्च गरेको प्रतिवेदनले औँल्याएको छ । बेलौरी नगरपालिकामा साना तथा ठुला गरेर ४२ सवारीसाधन प्रयोगमा छन् । कृष्णपुर नगरपालिकाले भने गत आवमा जिल्लाका नौ वटै पालिकाको तुलनामा सबभन्दा बढी खर्च इन्धनमा गरेको छ ।
कृष्णपुर नगरपालिकाको आन्तरिक आय छ करोड ५३ लाख ९८ हजार ३३८ रुपियाँ रहेको छ । वेदकोट नगरपालिकाले गत आवमा कर्मचारीका लागि इन्धनमा १२ लाख ७७ हजार, कार्यालय प्रयोजनमा १० लाख १५ हजार ४५, पदाधिकारीका लागि १५ लाख खर्च गरेको छ ।
वेदकोट नगरपालिकामा साना तथा ठुला गरेर ४४ सवारीसाधन सञ्चालनमा छन् । शुक्लाफाँटा नगरपालिकाले इन्धन तथा मर्मत खर्चको अभिलेखाङ्कनलाई व्यवस्थित बनाउन सकेको छैन् । सो पालिकाले इन्धन शीर्षकमा गत आवमा ५४ लाख २८ हजार ९१० रुपियाँ र पदाधिकारीतर्फ आठ लाख ५० हजार रुपियाँ खर्च भएको उल्लेख गरेको छ ।
गत आवमा सवारी मर्मत शीर्षकमा सो पालिकाले ३१ लाख ५० हजार ३१९ रुपियाँ खर्च गरेको छ । शुक्लाफाँटामा साना तथा ठुला गरेर ४५ सवारीसाधन प्रयोगमा रहेका छन् । भीमदत्त नगरपालिकाले गत आवमा इन्धनमा ७८ लाख ५१ हजार ३२८ रुपियाँ खर्च गरेको छ । अघिल्लो आवको तुलनामा सो पालिकाले गत आवमा झन्डै दोब्बरले इन्धन खर्च घटाएको महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । भीमदत्त नगरपालिकाले गत आवमा सवारीसाधन मर्मतमा ६९ लाख २९ हजार ११६ रुपियाँ खर्च गरेको छ ।
जिल्लाको पुनर्वास नगरपालिकाले गत आवमा इन्धनमा ४७ लाख ५५ हजार ८७ रुपियाँ खर्च गरेको छ भने ३९ सवारीसाधन मर्मतमा ६७ लाख ८१ हजार ८०७ रुपियाँ खर्च गरेको देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । दोधारा चाँदनी नगरपालिकाले गत आवमा इन्धनमा मात्रै ६१ लाख ९४ हजार ७०८ रुपियाँ खर्च गरेको छ । ३७ सवारीसाधन रहेको पालिकामा सवारीसाधन मर्मतमा ३२ लाख ६८ हजार ४४३ रुपियाँ खर्च गरेको छ ।
दुई गाउँपालिका रहेका जिल्लामा बेलडाँडी गाउँपालिकाले इन्धन र सवारीसाधन मर्मतमा अत्यधिक खर्च गरेको छ । बेलडाँडी गाउँपालिकाले गत आवमा इन्धनतर्फ ४२ लाख १४ हजार ११७ रुपियाँ खर्च भएको जनाएको छ । सो पालिकाले गत आवमा सवारी मर्मतमा कर्मचारीको सवारी मर्मतका लागि चार लाख सात हजार पाँच सय र मर्मतमा ४२ लाख २५ हजार ८१४ रुपियाँ खर्च भएको उल्लेख गरेको छ । पालिकाले आदेश फाराम मर्मत सम्पन्न कार्यफाराम अभिलेख खाता तयार नगरी खर्च लेखेको पाइएको महालेखाले औँल्याएको छ ।
लालझाँडी गाउँपालिकाले इन्धनमा ३६ लाख ६५ हजार २७६ रुपियाँ खर्च गरेको जनाएको छ । सो पालिकाले आन्तरिक आय ६२ लाख ६० हजार १९० मा सवारीसाधन मर्मतमा मात्रै ४१ प्रतिशत अर्थात् २५ लाख ६६ हजार ८१० रुपियाँ खर्च गरेको छ । सो पालिकाले गत आवमा एक लाख ७४ हजार सात सय रुपियाँ सवारीसाधनका भाडामा पनि खर्च भएको जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ तर यहाँका पालिकाले भने इन्धन, सवारी मर्मत र सवारी भाडामा फजुल खर्च गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । गोरखापत्रबाट
प्रतिक्रिया