धनगढीमा नगर प्रहरीद्वारा १ हजार आठ सय बढी सर्पको उद्धार
धनगढी । धनगढीमा नगर प्रहरीले साढे दुई वर्षको अवधिमा १ हजार ८ सय भन्दा बढी सर्पको उद्धार गरेको छ । धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले हालसम्म विभिन्न प्रजातिको एक हजार ८ सय २१ सर्पको उद्धार गरेको हो । २०८० मा सर्प उद्धारसम्बन्धी तालिम लिएर नगर प्रहरीले सो काम थालेको थियो ।
तालिम प्राप्त नगर प्रहरीले धनगढी उपमहानगरपालिकासहित विभिन्न छिमेकी पालिका पुगेर सर्प उद्धार गर्ने काम गर्दै आएको छ । नगर प्रहरीले अजिङ्गर, करेत, कमन करेत, लक्ष्मी नाग, कालो गोमन, गोमन, राज गोमन (किङ कोब्रा), कमन कोब्रा, भाइपर पिट लगायतका सर्पको उद्धार गरेको हो ।
नगर प्रहरीले उद्धार गरेर ल्याएको सर्पलाई सुरक्षित स्थानमा छोड्ने गरेको छ । यसअघि, सर्प उद्धारकर्ता नहुँदा घरभित्र देखिएका धेरैजसो सर्पलाई मार्ने गरिएको थियो । अचेल घर वा घर आसपासमा सर्प देखिएपछि मान्छेले उद्धारका लागि नगर प्रहरीलाई बोलाउने गरेको जनाइएको छ । नगर प्रहरीले सर्प उद्धारको काम थालेपछि धेरैको ज्यान जोगिएको छ ।
प्रतिक्रिया