धनगढीमा ‘सिनेमा संवाद’ कार्यक्रम हुने

  बुधबार २८, जेठ २०८२ १०:३१

धनगढी । सुदुरपश्चिम प्रदेशमा पहिलो पटक सिनेमा संवाद कार्यक्रम हुने भएको छ । देशका अन्य प्रदेशहरुमा हुदैं आएको सिनेमा संवाद कार्यक्रम सुदुरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना गर्न थालिएको हो । जेडी एसोसियट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमको सहकार्यमा धनगढीमा ‘सिनेमा संवाद’ कार्यक्रम हुने भएको छ । जेठ ३१ गते बहस, संवाद र सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले सिनेमा संवाद कार्यक्रम गर्न लागेको आयोजक जेडी एसोसियट्सका प्रबन्ध निर्देशक दिनेश भण्डारीले जानकारी दिए । 

कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, बजारका चुनौती र सिनेमा–समाज सम्बन्धबारे गहिरो छलफल गरिने जनाइएको छ । सुदूरपश्चिममा बढ्दो चलचित्रप्रति चासोलाई व्यवस्थित दिशातर्फ लैजान र स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्दै यस प्रदेशमा चलचत्रि मार्फत पर्यटन प्रबद्र्धन गर्नका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग जोडेर सुदुरपश्चिम र यहाँको पर्यटन तथा सम्भावनाका बिषयमा छलफल हुनेछ । सिनेमा संवादमा सहभागी हुन मुलधारका चर्चित कलाकार र कलाकर्मीहरु धनगढी आउने छन् । ‘चलचित्र मनोरञ्जनको साधन मात्र होईन, यो समाजको ऐना हो ।’ प्रबन्ध निर्देशक भण्डारीले भने– ‘स्थानीय स्तरमा नेपाली चलचित्र र कला संस्कृतिको प्रबद्र्धन तथा विस्तारमा महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरेका छौंं ।’

आजको पुस्ता चलचित्रप्रति आकर्षित भए पनि यसको गहिरो पक्ष, विशेषतः सन्देश, निर्माण प्रक्रिया र सामाजिक प्रभावबारे खुला संवादको सुदुरपश्चिममा अभाव रहेकोले  सिनेमा संवाद कार्यक्रम आयोजनामा लागेको चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमका अध्यक्ष पुष्पराज जोशीले बताए । ‘सिनेमा संवाद’ ले यही अभाव पूर्ति गर्ने प्रयास गर्ने उनको भनाई छ ।

सिनेमा संवाद कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता तथा निर्माता–निर्देशक विराज भट्ट, अभिनेता दिव्य देव पन्त, पुष्प खड्का, अभिनेत्री सुरक्षा पन्त, उपासना सिंह ठकुरी लगायतका कलाकार सहभागी हुनेछन् । चलचित्र प्रेमी लगायत सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रमले सिनेमा बुझ्न र समाजसँग जोड्न चाहने सबैका लागि सुनौलो अवसर हुने आयोजकले जनाएको छ ।

clock बुधबार २८, जेठ २०८२ १०:३१

प्रतिक्रिया