कैलालीका स्थानिय तहलाई पूर्वतयारीमा जुट्न मौसम विभागको आग्रह
धनगढी । कैलालीमा यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको आग्रह गरिएको छ । धनगढीमा मङ्गलबार आयोजित पूर्वसूचना समन्वयकारी सुदृढीकरण कार्यक्रमका सहभागीले पूर्वतयारीमा जुट्न जरुरी रहेको बताएका छन् । सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेका कारण बाढी, डुबान समस्या हुन सक्ने उनीहरूको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालय अत्तरियाका प्रमुख सञ्जय साहले विगतदेखि डुबान समस्या हुँदै आएको क्षेत्रमा यस वर्ष अली बढी डुबान हुन सक्ने भएकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको बताए । उनले बाढीले कृषि बालीमा नोक्सान गर्न सक्ने उल्लेख गरे ।
कैलालीमा बाढीको अवस्थाबारे सरोकारवालासहित समुदायमा जानकारी दिनका लागि १८ स्थानमा जलमापन केन्द्र र २२ स्थानमा वर्षा मापन केन्द्र स्थापना गरिएको छ । स्थापना गरिएको यी केन्द्रमार्फत राम्रो तरिकाले सूचना प्रवाह भइरहेको कारण विपत् जोखिम न्यूनीकरणमा सहयोग पुगेको प्रमुख साहको भनाइ छ ।
जिल्लाको गोदावरी, चुरे र मोहन्याल गरी तीन पालिकामा पहिरोको जोखिम रहेको जनाइएको छ । यस्तै मध्य क्षेत्रमा पर्ने पालिकामा नदी किनारको बस्तीमा कटानको जोखिम रहेको छ । टीकापुर नगरपालिका, जानकी, कैलारी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकामा भने बाढीको उच्च जोखिम रहेको जनाइएको छ ।
विपत् जोखिम न्यूनीकरणका लागि महाकाली बेसिन कार्यालयले मनसुन आपत्कालीन कार्ययोजना, २०८२ अनुसार काम गरिरहेको प्रमुख साहले बताए । विपत् व्यवस्थापनसम्बन्धी सूचना प्रवाहका लागि यस वर्ष आइभिआर प्रणालीको सुरुवात गर्न गइरहेको उनको भनाइ छ ।
कैलालीको साँडेपानी, सीतापुर, मालाखेती, चौमाला, बलिया, भजनी, टीकापुर अत्तरिया, कालुखेती, गोदावरी, गोगनपानी, गर्भादरबार, बघिल्ला, बौनियाँलगायतको स्थानमा वर्षा मापन केन्द्र स्थापना गरिएको छ । कैलालीमा रहेको कर्णाली नदीले लम्कीचुहा, जानकी र टीकापुर गरी तीन पालिकालाई प्रभावित गर्दै आएको छ ।
मोहना नदीले गोदावरी, धनगढी, कैलारी र भजनी, खुटिया नदीले चुरे, गौरीगङ्गा, गोदावरी, धनगढी, घुरहा नदीले कैलारी, भजनीलाई प्रभावित गर्दै आएको छ । यसै गरी कान्द्रा नदीले भजनी, लिक्मा नदीले कैलारी, भजनी, काँढा नदीले घोडाघोडी, बर्दगोरिया, जोशीपुर र भजनीलाई प्रभावित गर्दै आएको जनाइएको छ ।
त्यस्तै पथरैया नदीले टीकापुर, जोशीपुर, जानकी, भजनी र टीकापुर, रौरा नदीले लम्कीचुहा, टीकापुर, जानकी र ठुली गाडले मोहन्याललाई प्रभावित गर्दै आएको छ । विपत् आउनुपूर्व समुदायलाई सूचना दिनका लागि जिल्लामा पूर्वसूचना प्रणाली (सूचना संयन्त्र) तयार रहेको नेपाल रेडक्रस कैलालीका सभापति लोकराज जोशीले बताए ।
प्रदेश सरकार पनि मनसुन विपत् प्रतिकार्य योजना निर्माणको तयारीमा जुटेको जनाइएको छ । प्रतिकार्य योजनाको अद्यावधिक गर्ने कार्य भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताए ।
प्रतिक्रिया