कैलालीमा एकैदिन लागुऔषधसहित ६ जना पक्राउ

  बुधबार २८, जेठ २०८२ ०७:३७

धनगढी । कैलालीमा लागुऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान समेतका ६ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले लागुऔषध खैरो हेरोइनसहित गोदावरी नगरपालिका–९ घर भएका प्रहरी जवान चिरन्जीवी बिसीलाई पक्राउ गरिएको जानकारी दिए । उनको साथबाट तीन सय ८० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको छ ।

यस्तै गोदावरी नगरपालिका–५ को गेटाबाट २० वर्षीय कमल रिजाललाई पनि पक्राउ गरिएको छ । उनको साथबाट पाँच ग्राम १८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । रिजाललाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी सिंहले बताए ।

मंगलबार नै घोडाघोडी नगरपालिकाको सुखडबाट लागुऔषधसहित थप पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएराति करीब साढे १० बजेको समयमा विशेष सूचनाका आधारमा घोडाघोडी नगरपालिका–१ को सुखडबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घोडाघोडी–१ कै लक्ष्मीपुर बस्ने २० वर्षीय उमेश नाथ योगी,१९ वर्षीय बिनोद मिजार, १९ वर्षकै दिनेश बहादुर बिष्ट र दुई जना १८ वर्षीय किशोर रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) सिंहले बताए ।

उनकाअनुुसार उनीहरुको शरीर खानतलासी गर्दा २१ ग्राम ८२० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock बुधबार २८, जेठ २०८२ ०७:३७

प्रतिक्रिया