राजनीति छाडेर सिस्नो बेच्दै माओवादी नेता  ललितसिंह ठगुन्ना

  शुक्रबार २३, जेठ २०८२ १२:२६

दार्चुला । नौगाड गाउँपालिका–१, दार्चुला सल्लाका ललितसिंह ठगुन्ना पुराना राजनीतिकर्मी हुनुहुन्छ । अहिले उहाँले राजनीति छोडेर व्यवसायमा लाग्नुभएको छ । उहाँले राजनीतिलाई भन्दा आफ्नो व्यवसायलाई प्राथमिकतामा राख्नुभएको छ । सो व्यवसायबाट उहाँले वार्षिक लाखौँ रुपियाँ आम्दानी गरिरहनुभएको छ । 

उहाँले गाउँघरतिर प्रशस्त मात्रामा पाइने तर दैनिक खेर गइरहेको सिस्नोको पाउडर बनाएर वार्षिक आठदेखि १० लाख रुपियाँसम्म आम्दानी गरिरहनुभएको छ । सिर्जनशील कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर व्यावसायिक रूपमा सिस्नोको व्यापार थालेको तीन वर्ष भइसकेको छ । उहाँ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।

तीन वर्षमा सिस्नो पाउडर बिक्रीबाट ३० लाख रुपियाँ आम्दानी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिभन्दा मलाई व्यवसायले थप उचाइमा पुर्‍यायो अहिले निकै खुसी छु, घरपरिवारका अन्य सदस्य पनि खुसी छन् ।” औषधीय गुण भएको सिस्नो खेर गएको देख्दा आफूलाई नरमाइलो लागेको तथा सो सिस्नोलाई सुकाएर पाउडर बनाई बिक्री गर्दै आइरहेको उहाँले बताउनुभयो । सानैदेखि सिस्नोको साग खाने गरेका ठगुन्ना अहिले सिस्नो व्यापारी हुनुभएको छ ।

सिस्नोको साग खाँदा मिठो लागेका ठगुन्नाले अरूलाई पनि सिस्नोको औषधीय गुण र स्वादका बारेमा जानकारी गराउन तीन वर्ष पहिलेदेखि खेर गइरहेको सिस्नोबाट पाउडर बनाई व्यवसाय सुरु गर्नुभएको थियो । व्यवसायी ठगुन्ना गाउँघरको खेत, ससाना खोला किनारतिर पाइने सिस्नोलाई काटेर ल्याउने, सुकाउने र पाउडर बनाउने काममा व्यस्त हुनुहुन्छ । घरको छतमा मट्टा ९अन्नबाली सुकाउन प्रयोग गरिने निगालोबाट बनेको फराकिलो वस्तु० मा राखेर दुईरतीन दिनसम्म सिस्नो सुकाउने र त्यसपछि पाउडर बनाउने गरेको उहाँले बताउनुभयो । 

उहाँले दार्चुलाको विकट गाउँपालिकामा उत्पादन गरेको सिस्नो पाउडरको नेपालको काठमाडौँ, धनगढीलगायतका सहर र भारतको पिथौरागढ र दिल्ली सहरसम्मका मानिसले माग गरेर उपभोग गर्ने गरेका छन् । व्यवसायी ठगुन्ना प्याकिङ गरेको सिस्नो पाउडर प्रतिकिलोग्राम पाँच सय रुपियाँका दरले बिक्री गर्नुहुन्छ भने खुला रूपमा प्रतिकिलोग्राम चार सय रुपियाँका दरले बिक्री गर्दै आइरहनुभएको छ । सिस्नोको धुलो पाउडर साग, दाल, तरकारी, अचारमा मिसाएर सेवन गरेमा मधुमेह, बाथरोगलगायतका रोग निको भएर जाने उहाँले बताउनुभयो ।  

 

clock शुक्रबार २३, जेठ २०८२ १२:२६

प्रतिक्रिया