कैलालीको कैलारीमा हराएको चिज भेट्टाउन रुखको भर
धनगढी । कुनै चिज हराएपछि खोजीका लागि तुरुन्तै प्रहरीलाई खबर गर्ने जमाना छ अहिले तर कैलालीको ग्रामीण केही गाउँमा अझै पनि पृथक् अभ्यास भइरहेको छ । कैलारी गाउँपालिका–९ मा रहेको गदरिया र त्यस आसपासका अन्य गाउँका कतिपयले हराएको चिज भेट्टाउन बर्सौं पुरानो पकरियाको रुखमा भाकल गर्ने गरेका छन् । गदरिया गाउँमा रहेको सयौँ वर्ष पुरानो रुखलाई भगवान् मान्दै उनीहरूले हराएको चिज भेट्टाउन पूजाआजासहित भाकल गर्दै आएका हुन् ।
विश्वासका साथ भाकल गर्दा मनोकामना पूरा र हराएको चिज प्राप्त हुने गरेको स्थानीय बदलादेवी रानाले बताउनुभयो । उहाँले भाकल गरेपछि हराएको सामान भेटिएको थुप्रै उदाहरण रहेको जिकिर गर्नुभयो । “भाकल गर्दा थुप्रै मान्छेका हराएको सामान भेटिएको छ । विश्वासका साथ यहाँ भाकल गर्दा मनोकामना पूरा हुन्छ,” उहाँले भन्नुभयो ।
पकरियाको रुखलाई स्थानीयस्तरमा रौराबाबाको नामले चिन्ने गरिएको छ । त्यसमा शङ्कर भगवान्को बास रहेको भन्दै स्थानीयले रुखलाई पुज्दै आएका छन् । बदलादेवीकै श्रीमान् घुर्रा राना रौराबाबाको रेखदेख गर्दै आउनुभएको छ । कतिसम्म भने विगतमा सर्पले टोकेको मान्छेलाई उपचारका लागि अस्पताल नलगी निको बनाउन यही रौराबाबामा लगिन्थ्यो । सर्पले टोकेको मान्छेलाई रौराबाबामा ल्याएर थाल ठटाउने, झारफुक र नाचगान गर्ने कार्य गर्दा निको हुने जनविश्वास थियो । अहिले भने यस्तो कार्य नदेखिएको कैलारी गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरीले बताउनुभयो ।
“पहिले पहिले त सर्पले टोक्दा मान्छेलाई रौराबाबामा ल्याएर नाचगान गर्दै झारफुक गरेको मैले पनि देखेको हुँ,” उहाँले भन्नुभयो, “अहिले त्यस्तो देखिएको छैन ।” विषालु सर्पले टोकेमा तुरुन्तै अस्पतालमा उपचार गराउनुपर्ने मान्छेमा सचेतना आएकाले अहिले रौराबाबामा झारफुक नहुने गरेको बताइन्छ । स्थानीय बुढापाकाले रौराबाबाको धेरै ठुलो शक्ति रहेको विश्वास गर्दै आएका छन् । त्यसैले पनि हराएको चिज भेट्टाउनका लागि भाकल गर्ने गरेको उनीहरूको भनाइ छ ।
स्थानीय ओइदराम चौधरीले रौराबाबामा शक्ति रहेको उल्लेख गर्नुभयो । रौराबाबा भनिएको पकरियाको रुख कति वर्ष पुरानो रुख हो भन्ने कसैलाई जानकारी छैन तर यो रुखलाई आफ्ना पुर्खाले पनि परिपक्व रुखकै रूपमा देखेको र अहिले पनि त्यस्तै रहेको बुढापाकाको भनाइ छ । चामत्कारिक शक्तिका कारण रुख धेरै समयसम्म बाँचेको भन्दै उनीहरूले रौराबाबालाई देवताका रूपमा पुज्ने गरेका छन् ।
प्रतिक्रिया