मोटरसाइकल चोरीमा संलग्न चारजना पक्राउ

  बिहिबार २२, जेठ २०८२ ०९:२१

कैलाली । कैलालीको घोडाघोडी नगरपालिमा रहेको ईलाका प्रहरी कार्यालय सुखडले विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने चार जनालाई पक्राउ गर्नुका साथै उनीहरुले चोरी गरेको आठवटा मोटरसाइकल समेत बरामद गरेको छ । जिल्लाको लम्की, धनगढी, सुखडलगायतका स्थानबाट चोरी भएका आठवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) रमेशदत्त अवस्थिले आफूले ईलाका प्रहरी कार्यालय सुखडको प्रमुखको जिम्मेवारी समालेको केही दिनमै मोटरसाइलकल चोरीको लत्ततै तीन वटा जाहेरी परेपछि अनुसन्धान थालिएको बताउनुभयो ।

उहाँले २०८२ साल जेठ ५ गते घोडाघोडी नगरपालिका वडा नम्बर १ बेलार का प्रमानन्द जोशीले दिएको घरको कम्पाउण्डको पार्किङमा राखेको मोटर साइकल चोरीको जाहेरी र जेठ २० गते सोही ठेगाना भएका रोशन आचार्य र काशीराम कडेलले दिएको मोटरसाइकल चोरीको सिरियलबद्ध चोरीको जाहेरी परेको जानकारी दिनुभयो ।

मातहतका प्रहरी कार्यालयलाई परिपत्र गरी आफ्नो नेतृत्वमा चारजना प्रहरी जवान चोरी भएको क्षेत्रमा रहेको सिसि टिभि क्यामेराको रेर्कड, विगतमा चोरीमा मुद्दामा संलग्नहरुको अध्ययन, मोटरसाइकल ग्यारेजमा खोजी गर्दै जाँदा विभिन्न ठाउँबाट भाग्दै गरेको अवस्थामा चोरीमा संलग्न चारजनालाई पक्राउ गर्न सफल भएको कार्यालय प्रमुख डिएसपी अवस्थीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडानम्बर १ लोहरपुर बस्ने २२ वर्षका मदन सार्की, सोही ठेगाना भएका १८ वर्षका शलिकराज गिरी, १८ वर्षका निराजन शाही र वडा नम्बर १० लठैयाका २३ वर्षीय जितेन्द्र चौधरी रहेका छन् ।

मदन सार्की र निराजन शाही यसअघिसमेत पटक पटक चोरीमा मुद्दा खेपेका व्यक्ति रहेको पाइएको छ ।

सार्कीले २०७९ सालमासमेत मोटरसाइकल चोरीमा मुद्दा दर्ताभई दस हजार जरिवाना र एक महिना कैद सजाए पाउनुका साथै २०८० सालमा पुनः चोरीमा मुद्दा दर्ता भई एक वर्ष कैद सजाय भोगेका व्यक्ति रहेको जनाइएको छ ।

त्यसैगरी निराजन शाही २०८१ सालमा चोरी र अभद्र व्यवहारको छुट्टाछुट्टै समय र मितिमा मुद्दा दर्ता भई अदालतबाट नाबालक भएकाले आफन्तलाई जिम्मा लगाएको प्रहरीको रेर्कडमा उल्लेख छ ।

मोटरसाइकल वर्कशपमा हेल्परको रुपमा कार्यरत चोरीमा संलग्न मदन सार्कीले चोरी गरी ल्याएका मोटरसाइकलहरु सस्तोमा खरिद गरि नाफा लिई अरुलाई बेच्ने गरेको डिएसपी अवस्थीले जानकारी दिनुभयो ।

मोटरसाइकल चोरीमा संलग्न चारजनालाई पक्राउ परेपछि कैलालीको लम्की, धनगढीबाटसमेत चोरीभएका मोटरसाइकल बरामद भएको छ । उनीहरुले आठवटा मोटरसाइकल मध्ये दुई वटा धनगढी एकवटा लम्की र पाँचवटा घोडाघोडी नगरपालिकाबाट चोरी गरेका हुन् ।

चोरीमा संलग्नको पारिवारिक पृष्ठभुमी हेर्दा कसैको बावुको मृत्यु भएको, आमाले अर्को विवाह गरेर गएको र कसैको बावुआमा दुवै भारत तथा बिदेशमा रहेको साथै गरिबी रहेको पाइएको छ । डिएसपी अवस्थीले अभिभावकत्व विहीन र गरिबीले गर्दा पटक पटक चोरीमा संलग्न भएको पाइएको उल्लेख गर्नुभयो ।

बुधबार मोटरसाइकल चोरीमा संलग्नहरुलाई सार्वजनिक गर्दै डिएसपी अवस्थीले घटनाको विस्तृत जानकारी दिनुभएको हो । उहाँले आफू कार्यालय प्रमुख भएर आएपछि करिब डेढ महिनामा भए गरेका काम कार्वाहीको बारेमासमेत जानकारी दिनुभयो ।

clock बिहिबार २२, जेठ २०८२ ०९:२१

प्रतिक्रिया