कैलालीका भन्सार प्रमुख कुट्ने नगर प्रहरी हिरासतबाट छुटे लगत्तै फेरी पक्राउ
धनगढी । जिल्ला प्रहरी कार्यालयको हिरासतबाट थुनामुक्त भएका धनगढीका नगर प्रहरीहरु फेरी पक्राउ परेका छन् । कैलाली भन्सारका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेपछि १२ जेठमा पक्राउ परेका धनगढी नगर प्रहरीका प्रमुख लक्ष्मणसिंह धामीसहितका चार जना मंगलबार जिल्ला प्रहरी कार्यालयको हिरासतबाट थुनामुक्त भएका थिए ।
उनीहरु थुनामुक्त भएपनि भन्सार कार्यालयले भन्सार ऐनअनुुसार अनुसन्धान अघि बढाएपछि फेरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक९डीएसपी० राजकुमार सिंहले भन्सार कार्यालयले भन्सार ऐनअनुसार अनुसन्धान गरिरहेकाले नगर प्रहरीलाई फेरी हिरासतमा राखिएको बताए ।
पक्राउ परेका मध्ये नगर प्रहरीका सवारी चालक हसनबहादुर मल्ललाई भने स्वास्थ्य समस्याका कारण छाडिएको छ । उनी बाहेक नगर प्रहरी निरीक्षक धामी, हवल्दार मणीदत्त भट्ट र जवान जितेन्द्र सिंह धामी भने जिल्ला प्रहरी कार्यालयकै हिरासतमा छन् ।
उनीहरुविरुद्ध भन्सार ऐनअनुसार मुद्दा दर्ता गरिएको छ । यो मुद्दाको सुनवाई भन्सार कार्यालय कैलाली आफैले गर्नेछ । प्रहरीले भन्सार कार्यालयको आग्रहमा हिरासतमा राखेर सहयोग मात्रै गरेको जनाएको छ ।
१० जेठको राती भन्सार कार्यालयभित्रै घुसेर नगर प्रहरी निरीक्षक धामीसहितका चार जना नगर प्रहरीले भन्सार प्रमुख तिमिल्सिनामाथि कुटपिट गरेका थिए । उनीहरुबिरुद्ध अभद्र व्यवहार शिर्षकमा किटानी जाहेरी परेपछि १२ जेठमा कैलाली प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।
प्रतिक्रिया